बाजुरा ः खप्तड छेडेदह गाउँपालिकाका दुई युवा खेलाडी प्रदीप सुनार र शुभम रावतले राष्ट्रिय गोजुरियो करातेको Sho Dan (1st Degree Black Belt) हासिल गरेका छन्।
उनीहरू खप्तड छेडेदह कराते डोजोबाट ब्ल्याक बेल्ट प्राप्त गर्ने बाजुरा जिल्लाकै पहिलो खेलाडी बनेका हुन्। नेपाल कराते महासंघ तथा राष्ट्रिय गोजुरियो कराते-दो संघ, सुदूरपश्चिम प्रदेशको आयोजनामा सम्पन्न प्रदेशस्तरीय दीक्षान्त समारोहमा प्रदीप र शुभमले सफलतापूर्वक प्रथम डिग्री ब्ल्याक बेल्ट हासिल गरेका हुन्।
मार्सल आर्टका अन्तर्राष्ट्रिय प्रशिक्षक तथा नेपाल कराते महासंघका राष्ट्रिय प्रशिक्षक एवं राष्ट्रिय रेफ्री सिहान नरेन्द्र ओलीको प्रशिक्षणमा रहेका उनीहरूले लामो समयको मेहनत, अनुशासन र निरन्तर अभ्यासपछि यो उपलब्धि हासिल गरेका हुन्।
खप्तड छेडेदह कराते डोजोका खेलाडीले प्रदेशस्तरीय दीक्षान्त समारोहबाटै ब्ल्याक बेल्ट प्राप्त गर्नु बाजुराको कराते क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको प्रशिक्षक ओलीले बताए।
उनका अनुसार प्रदीप र शुभमको सफलताले खप्तड छेडेदहसहित जिल्लाका अन्य खेलाडीलाई समेत करातेप्रति थप उत्साहित र प्रेरित बनाउनेछ। प्रशिक्षक ओलीले प्रदीप सुनार र शुभम रावतलाई बधाई दिँदै आगामी खेल यात्राको सफलताको शुभकामना व्यक्त गरेका छन्।
“तपाईंहरूको यो सफलता केवल व्यक्तिगत उपलब्धि होइन, खप्तड छेडेदह कराते डोजो र समग्र बाजुराको खेल क्षेत्रकै गौरव हो। आगामी दिनमा अझ उच्च सफलता हासिल गर्न प्रेरणा मिलोस्,” ओलीले शुभकामना दिएका छन्।
प्रदीप र शुभमको यो उपलब्धिले दुर्गम क्षेत्रबाट पनि निरन्तर मेहनत र अवसर पाए राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट खेलाडी उत्पादन गर्न सकिने सन्देश दिएको छ। आगामी दिनमा उनीहरूले करातेमा अझ उच्च स्तरको सफलता हासिल गर्ने अपेक्षा गरिएको छ।





प्रतिक्रिया