बाजुरा ःबाजुराको गौमुल गाउँपालिकाको दुर्गम क्षेत्रमा प्रसव पीडामा रहेकी एक गर्भवती महिलाको बीच बाटोमै सुत्केरी हुँदा स्वास्थ्यकर्मीको तत्कालीन निर्णय क्षमता, आपतकालीन उपचार सीप र स्थानीय सरकारको सक्रिय समन्वयका कारण नवजात शिशुको ज्यान जोगिएको छ ।
गौमुल गाउँपालिका-२ की २४ वर्षीया पहिलो गर्भवती महिलालाई लगातारको वर्षाले सडक अवरुद्ध भएपछि समयमै स्वास्थ्य संस्थासम्म पुर्याउन नसकिँदा बीच बाटोमै सुत्केरी गराउनु परेको थियो ।
प्रसूतिको क्रममा शिशु ‘फेस प्रेजेन्टेसन’ (अनुहार पहिले आउने अवस्था) मा जन्मिएको, घाँटीमा टाइट नुचल कर्ड (नालो बेरिएको) रहेको र जन्म लगत्तै नरोएको तथा श्वासप्रश्वासमा समस्या देखिएपछि अवस्था निकै जटिल बनेको थियो ।
त्यस अवस्थामा गौमुल गाउँपालिका-२ स्थित तल्लोदुगुन स्वास्थ्य चौकीका अहेव महेश रोकायाले आफूले प्राप्त गरेको CB-IMNCI तालिममा सिकेका आपतकालीन नवजात शिशु व्यवस्थापन सम्बन्धी सीप प्रयोग गर्दै तत्काल उपचार थाले ।
उपलब्ध सीमित स्रोत-साधनकै बीच शिशुको श्वासप्रश्वास खुलाउने, मुखभित्रको तरल पदार्थ सक्सन गर्ने, शरीर न्यानो राख्ने, आवश्यक उत्तेजना दिने तथा आवश्यकता अनुसार ब्याग एन्ड मास्कमार्फत श्वासप्रश्वासमा सहयोग गर्ने व्यवस्थापन गरिएको थियो ।
जटिल अवस्थाबीच रोकायाले तालिम प्रशिक्षक बीरबहादुर बोहरा, अनुभवी स्वास्थ्यकर्मी, एएनएम तथा सहकर्मीसँग निरन्तर टेलिफोन सम्पर्कमा रही आवश्यक परामर्श र निर्देशन लिँदै उपचारलाई अघि बढाएका थिए ।
यसैबीच गाउँपालिकासँग समन्वय गरी उद्धारका लागि मोटरसाइकलको व्यवस्था गरिएपनि वर्षाका कारण सडक अवरुद्ध हुनुका साथै बाटोमा रुख ढलेकाले थप चुनौती सिर्जना भएको थियो ।
कठिन परिस्थितिका बाबजुद स्वास्थ्यकर्मी, स्थानीय सरकार र सहयोगीहरुको संयुक्त प्रयासमा आमा र शिशुलाई गाउँपालिका केन्द्रमा रहेको घट्मुना अस्पताल पुर्याइएको थियो ।
अस्पताल पुग्दासम्म शिशुको अवस्था क्रमशः सुधार हुन थालेको, रोएको आवाज समेत आएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । थप विशेषज्ञ उपचार आवश्यक भएकाले नवजातलाई जिल्ला अस्पताल बाजुरा रेफर गरिएको र पछिल्लो जानकारी अनुसार शिशुको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बुझिएको छ ।
यस घटनाले दुर्गम क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीका लागि आपतकालीन नवजात शिशु व्यवस्थापन सम्बन्धी व्यावहारिक तालिम, नियमित अभ्यास र समयमै हुने प्राविधिक परामर्शको महत्व थप स्पष्ट पारेको छ ।
सीमित स्रोत-साधनका बीच पनि दक्ष जनशक्ति, प्रभावकारी समन्वय र स्थानीय सरकारको सक्रिय सहयोग भएमा जटिल अवस्थालाई समेत सफलतापूर्वक व्यवस्थापन गर्न सकिने उदाहरणका रुपमा यो घटना हेरिएको छ ।
घटनापछि सामाजिक सञ्जाल मार्फत अनुभव सार्वजनिक गर्दै अहेव महेश रोकायाले वास्तविक आपतकालीन अवस्थामा किताबको ज्ञान मात्र पर्याप्त नहुने, नियमित तालिम, अनुभवी व्यक्तिको मार्गदर्शन र टोलीको सहकार्य नै सबैभन्दा ठूलो शक्ति हुने उल्लेख गरेका छन् ।
उनले स्वास्थ्य कार्यालय बाजुरा, गौमुल गाउँपालिका, स्वास्थ्य शाखा, तालिम प्रशिक्षक, सहकर्मी तथा उद्धारमा सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेका छन् ।
दुर्गम भेगमा स्वास्थ्य सेवा प्रवाहका क्रममा देखिने चुनौतीका बीच यो घटनाले दक्ष स्वास्थ्यकर्मी, प्रभावकारी स्थानीय सरकार र समयमै हुने समन्वयले असम्भव जस्तो देखिने अवस्थालाई पनि सफलतामा बदल्न सकिन्छ भन्ने सन्देश दिएको छ ।





प्रतिक्रिया