गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ १२:४०
बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, जेठ ०६, २०८३
बाबाको काँध ढलेपछि टुहुरा बने तीन सन्तान

बाजुरा ः गौमुल गाउँपालिका-६ टाँडाकोट टुनी (खनेगडा) का २८ वर्षीय पदम विकको गत वैशाख ७ गते भीरबाट खसेर भएको अकल्पनीय निधनले उनका श्रीमती, एक नाबालक छोरा र दुई छोरी अहिले सहारा विहीन बनेका छन् ।

परिवारको मुख्य आधार नै गुमेपछि घरमा पीडा, अभाव र अन्योल छाएको छ । दैनिक जीविको पार्जनका लागि भारतमा मजदुरी गर्दै आएका पदमले कमाएको पसिनाले नै बुढा आमाबुबा, श्रीमती र तीन सन्तानको चुलो बल्थ्यो ।

विपन्न परिवारका लागि उनी मात्रै आशा, भरोसा र सहारा थिए । तर, नियतिको कठोर खेलले परिवारको त्यो सहारा एकाएक खोसिएको छ ।

केही दिन अघि मात्र भारतबाट सिंगो परिवार लिएर गाउँ फर्किएका पदम अचानक भीरबाट खसेर संसारबाट बिदा भएपछि अहिले घरका प्रत्येक कुनामा रुवाबासी छाएको छ ।

श्रीमती ललिता विकका आँखामा श्रीमान गुमाएको पीडा मात्रै होइन, अब तीन सन्तान कसरी हुर्काउने भन्ने ठूलो चिन्ता पनि थपिएको छ । सानो उमेरमै बाबाको माया गुमाएका ती नाबालक बालबालिकाको भविष्य अन्योलमा परेको छ ।

घरमा वृद्ध आमाबुबा छन्, जसको सहारा पनि अब कसैले थाम्नुपर्ने अवस्था आएको छ । परिवारको मियो नै ढलेपछि अहिले उक्त परिवारलाई गाँस, बास र बालबालिकाको भविष्य जोगाउने चिन्ताले सताइरहेको छ ।

स्थानीयका अनुसार पदम मेहनती, सरल र परिवारप्रति अत्यन्त जिम्मेवार व्यक्ति थिए । गाउँमा पनि उनी सबैसँग मिलनसार व्यवहार गर्ने व्यक्तिका रुपमा चिनिन्थे । उनको असामयिक निधनले गाउँ नै शोक र स्तब्ध बनेको छ ।

यतिबेला उक्त परिवारलाई आर्थिक, नैतिक तथा मानवीय सहयोगको खाँचो परेको स्थानीयले बताएका छन् । सानो सहयोगले पनि टुहुरा बनेका बालबालिकाको भविष्य बचाउन र पीडित परिवारलाई केही राहत मिल्न सक्ने अपेक्षा गरिएको छ ।

मानवता अझै जीवित छ भन्ने अनुभूति परिवारलाई दिलाउनुपर्ने देखिन्छ । एक परिवारको सहारा ढलेको छ, अब समाजले सहारा बन्नुपर्ने समय आएको छ ।
 

प्रतिक्रिया