बाजुरा ः बाजुराको मार्तडी-कोल्टी सडक खण्ड अन्तर्गत बाउली खोलामा निर्माणाधीन मोटरेबल पुल ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण पाँच वर्षदेखि अलपत्र परेको छ । १६ महिनाभित्र सम्पन्न गर्नुपर्ने परियोजना हालसम्म जम्मा २१ प्रतिशत मात्रै अघि बढेको छ, जसले विकास निर्माणमा गम्भीर गैरजिम्मेवारी उजागर गरेको छ ।
निर्धारित समयसीमा लामो समयअघि सकिँदा पनि काममा उल्लेखनीय प्रगति नदेखिएपछि प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको नेतृत्वमा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाल सहितको टोलीले स्थलगत अनुगमन गरेको छ । अनुगमनपछि प्रशासन आक्रामक देखिएको छ ।
प्रमुख जिल्ला अधिकारी निरौलाले ठेकेदार कम्पनीलाई कडा चेतावनी दिँदै अबको तीन महिनाभित्र उल्लेखनीय प्रगति देखाउन स्पष्ट अल्टिमेटम दिएका छन् । “अब पनि काम अघि बढेन भने कानुनी कारबाहीका साथै ठेकेदारलाई कालोसूचीमा राख्न सिफारिस गरिनेछ,” उनले स्पष्ट पारे ।
सडक डिभिजन कार्यालयका अनुसार २०७८ कार्तिक १५ गते धनगढीस्थित टिडिआर-जुगल कौशिक जेभीले ५ करोड ५८ लाख ८८ हजार २ सय ७० रुपैयाँमा ठेक्का लिएर २०७८ फागुन १५ भित्र काम सक्ने जिम्मा लिएको थियो । तर सम्झौता अवधि सकिएको वर्षौँ बितिसक्दा पनि काम अलपत्र छ ।
इन्जिनियर देवेन्द्र स्वारका अनुसार ढिलाइको कारण बजेट अभाव वा प्राविधिक समस्या नभई ठेकेदारको लापरबाही नै मुख्य हो । हालसम्म ९० लाख ५६ हजार रुपैयाँभन्दा बढी भुक्तानी भइसकेको भए पनि निर्माणको गति सुस्त छ । निर्माणस्थलमा राखिएका केही सरिया बाढीले बगाउँदा थप क्षति भएको पनि जनाइएको छ ।
पटक-पटक ताकेता गर्दा पनि काममा सुधार नआएपछि म्याद थप गर्दै आर्थिक वर्ष २०८२ फागुन ३० गतेसम्म पुर्याइएको छ, तर अझै पनि अवस्था उस्तै छ । पुल नहुँदा बाउली खोलामा वर्षायाममा पानी बढ्नेबित्तिकै यातायात पूर्ण रूपमा ठप्प हुने गरेको छ । बिरामी, गर्भवती महिला तथा आकस्मिक अवस्थाका नागरिकले समयमै उपचार नपाउने समस्या झेलिरहेका छन् ।
विद्यार्थी जोखिम मोलेर खोला पार गर्न बाध्य छन् भने कृषकहरू उत्पादन बजारसम्म पु¥याउन नसक्दा आर्थिक क्षति बेहोर्न बाध्य छन् । सवारी साधन खोलाको किनारमै रोकिने हुँदा यात्रुहरू घण्टौँ पैदल हिँड्न बाध्य हुने गरेका छन् । वर्षायाममा दुर्घटनाको जोखिम उच्च रहेको स्थानीयको गुनासो छ ।
पुल अभावले पूर्वी तथा उत्तरी क्षेत्रका चार स्थानीय तहसहित बडीमालिका नगरपालिका-७ र ८ का बासिन्दा मात्र नभई हुम्ला, मुगु र कालिकोटका सर्वसाधारण समेत प्रभावित भएका छन् । जिल्ला समन्वय समिति प्रमुख रोकायाले ढिलासुस्ती अस्वीकार्य भएको जनाउँदै अब अनुगमनलाई निरन्तरता दिइने बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय बाजुराले अधुरा आयोजना समयमै सम्पन्न गराउन समन्वय थप तीव्र बनाइएको जनाएको छ । यसैबीच, नजिकैको अनाई खोलामा निर्माण गरिएको पक्की पुल भने एक वर्षमै सम्पन्न भई सञ्चालनमा आइसकेको छ, जसले समयमै काम भए विकास सम्भव हुने स्पष्ट सन्देश दिएको छ ।





प्रतिक्रिया