काठमाडौं : पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ। ओलीलाई आज बिहान भक्तपुरको गुण्डुस्थित निवासबाटै पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको हो।
प्रहरीले उनलाई पक्राउ गर्नुअघि जरुरी पक्राउ पुर्जी थमाएको थियो। भदौ २३ र २४ गते भएको 'जेनजी'आन्दोलनपछि गठित छानबिन आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा ओली पक्राउ परेका हुन्।
पत्रमा भनिएको छ, ‘तपाईंलाई ज्यान सम्बन्धी कसूरसमेतको मुद्दाको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नु परेकाले यो पक्राउ पुर्जी जारी गरिएको छ।’ सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
सिंहदरबारमा शुक्रबार बसेको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगले सिफारिस गरेको विषयहरू कार्यान्वयन गर्ने निर्णय गरेको हो।
आयोगले सिफारिस गरेका व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी सो समितिले पेस गर्ने सिफारिस बमोजिम गर्ने र अन्यको हकमा सो आयोगले गरेको सिफारिसलाई तत्काल कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय भएको थियो।
लगत्तै गृहमन्त्री सुधन गुरुङले प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई एमाले अध्यक्ष ओली र कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गर्न निर्देशन दिएका थिए।
पूर्वगृहमन्त्रीसमेत रहेका लेखक पनि पक्राउ परिसकेका छन्। पक्राउ पछि गृहमन्त्री गुरुङले कानुनभन्दा माथि कोही नभएको र कसैप्रति प्रतिशोध नगरिएको टिप्पणी गरेका छन्।
‘PROMISE IS A PROMISE : कानुनभन्दा माथि कोही छैन। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो।’ उनले भने ‘मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ।’





प्रतिक्रिया