गाैमुल खबर डटकम बिहीबार २८, फागुन २०८२ ११:२२

५० हजार अभावमा उपचार रोकियो : बाजुराका पीडित दम्पत्तीको सहयोगका लागि अपिल

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, फागुन २८, २०८२
५० हजार अभावमा उपचार रोकियो : बाजुराका पीडित दम्पत्तीको सहयोगका लागि अपिल

बाजुरा ःबाजुराको जगन्नाथ गाउँपालिकामा एक पीडादायी घटना सार्वजनिक भएको छ । एक हप्ताको अन्तरालमै श्रीमान-श्रीमती दुवैको खुट्टा भाँचिएपछि उनीहरू यतिखेर जिल्ला अस्पतालको शैयामा उपचाररत छन् भने घरपरिवार गम्भीर समस्यामा परेको छ ।

जगन्नाथ गाउँपालिका-३ तलकोट निवासी ३५ वर्षीय पूर्वे ढोली र उनकी ३० वर्षीया श्रीमती विष्णु ढोली दुवै जना अहिले अस्पतालमा उपचार गराइरहेका छन् । करिब एक हप्ताअघि पूर्वे ढोली घर नजिकै खानेपानीको लाइन मर्मत गर्ने क्रममा अचानक लडेर गम्भीर घाइते भएका थिए ।

उनको दायाँ खुट्टा भाँचिएको थियो । उपचारका लागि उनलाई बुढीनन्दा नगरपालिका-२ स्थित कोल्टी अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले प्लास्टर गरेर उपचार सुरु गरेका थिए । तर परिवारको पीडा त्यतिमै सीमित रहेन् । केही दिनमै अर्को बज्रपात झैँ घटना भयो ।

गत फागुन २६ गते, पूर्वेका श्रीमती विष्णु ढोली मावली घर जगन्नाथ गाउँपालिकाको ढाँडाकोटतर्फ जाँदै गर्दा बाटोमा माथिबाट खसेको ढुंगाले लागेर उनको पनि दायाँ खुट्टा भाँचियो । त्यसपछि उनलाई जिल्ला अस्पताल पु¥याएर उपचार सुरु गरिएको छ ।

हाल दुवै श्रीमान-श्रीमती जिल्ला अस्पतालको शैयामा उपचाररत छन् । चिकित्सकका अनुसार विष्णुको खुट्टामा रड हाल्नुपर्ने भएकाले मात्रै करिब ५० हजार रुपैयाँभन्दा बढी खर्च लाग्ने बताइएको छ ।

घरका मुख्य कमाउने सदस्य दुवै जना अस्पतालमा हुँदा परिवार भने ठूलो संकटमा परेको छ । पूर्वेको घरमा एक छोरा, तीन छोरी र बिरामी बुबा छन् ।तीन महिनाकी सानी छोरीलाई साथमै लिएर उपचारका लागि अस्पताल आउनुपरेपछि घर झनै सुनसान र समस्याग्रस्त बनेको छ ।

पूर्वे ढोली भन्छन्, “एकातिर उपचारका लागि पैसा छैन, अर्कोतिर घरमा बुबा पनि बिरामी हुनुहुन्छ । साना छोराछोरीको पालनपोषण र दैनिक छाक टार्न पनि निकै गाह्रो भइरहेको छ ।”

विष्णुको खुट्टामा हाल्नुपर्ने रड धनगढी वा काठमाडौंबाट ल्याउनुपर्ने भएकाले आर्थिक अभावले उपचारमा झन् समस्या परेको उनले बताएका छन् । आफ्नो उपचार र परिवारको जीवन बचाउनका लागि उनले सबै दयालु मनहरुलाई सहयोगको आग्रह गरेका छन् ।

यदी कसैले सहयोग गर्न चाहनुहुन्छ भने थप जानकारीका लागि उनका आफन्त राजेन्द्र नेपाली सम्पर्क नम्बर ९७६११७०४८५ मा फोन गरेर सहयोग गर्न सक्नुहुन्छ । मानवता अझै जीवित छ भन्ने विश्वासका साथ, सानो सहयोगले पनि यो पीडित परिवारको घाउमा मलम बन्न सक्छ ।
 

प्रतिक्रिया