बाजुरा ः गौमुल गाउँपालिका-६ अन्तर्गत दडीपाटा टोलमा जाने बाटो नदीको कटानका कारण पूर्ण रुपमा अवरुद्ध बनेपछि गाउँपालिकाले तत्काल पुनःनिर्माण प्रक्रिया अघि बढाउने भएको छ ।
वर्षायाममा आएको बाढीले घट्मुना संगम नदी किनारको उक्त बाटो केही महिनाअघि पूर्ण रुपमा भत्किएको थियो । गाउँपालिकाको केन्द्र नजिकै रहेको उक्त सडक दडीपाटा टोलका करिब १८ घरपरिवारको दैनिक आवतजावतको मुख्य बाटो हो ।
बाटो जोखिमपूर्ण बनेपछि स्थानीयलाई आवतजावतमा समस्या हुँदै आएको थियो । गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले प्राविधिक स्टमेट तयार गरी तत्काल निर्माण कार्य सुरु गर्न निर्देशन दिइएको जानकारी दिएका छन् ।
त्यस्तै वडा अध्यक्ष प्रकाश रोकायाले स्थल निरीक्षण गरी चाँडो निर्माण प्रक्रिया अगाडी बढाउन पहल गरिएको बताएका छन् । वडा कार्यालयले हाल जोखिमयुक्त उक्त बाटो प्रयोग नगर्न स्थानीयलाई अनुरोध गरेको छ ।
वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा प्रशासनिक तथा प्राविधिक प्रक्रियाका कारण निर्माण कार्यमा केही ढिलाइ हुन सक्ने जनाइएको छ ।
तर पनि स्थानीय सरकारले देखाएको सक्रियता प्रति दडीपाटा टोलका बासिन्दा सकारात्मक देखिएका छन् । बाटो पुनःनिर्माणको खबरले उनीहरुमा आशा र खुशी थपिएको छ ।





प्रतिक्रिया