बाजुरा ःआगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुरा जिल्लामा स्वतन्त्र उम्मेदवार सहित ७ वटा राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
मंगलबार बाजुरा सदरमुकाम मार्तडीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा एक स्वतन्त्र उम्मेदवार सहित विभिन्न ७ राजनीतिक दलका उम्मेदवारहरूले तोकिएको समयभित्र मनोनयन दर्ता गराएका हुन् ।
मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलका अनुसार नेपाली काँग्रेसबाट जनकराज गिरी, नेकपा एमालेबाट लालबहादुर थापा, नेपाली कम्युनिस्ट पार्टीबाट प्रकाश शाह तथा नेपाली कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट भुपेन्द्र विकले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी स्वतन्त्र उम्मेदवारका रुपमा उपेन्द्र शाही, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट हेमराज थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केशरबहादुर शाहीले मनोनयन दर्ता गराएका छन् ।
यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीबाट दीपक डि.सी. उम्मेदवार रहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी दर्ता प्रक्रिया शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र मर्यादित रूपमा सम्पन्न गराउन आवश्यक सम्पूर्ण तयारी अघि बढाइएको कार्यालयले जनाएको छ ।





प्रतिक्रिया