गाैमुल खबर डटकम बुधबार २१, माघ २०८२ ०८:२५

जगन्नाथ गाउँपालिकाको दोस्रो गाउँसभा तथा १७ औँ अधिवेशन सम्पन्न

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, माघ ०२, २०८२
जगन्नाथ गाउँपालिकाको दोस्रो गाउँसभा तथा १७ औँ अधिवेशन सम्पन्न

बाजुरा ः जिल्लाको जगन्नाथ गाउँपालिकाको दोस्रो गाउँसभा तथा १७ औँ अधिवेशन आज सफलतापूर्वक सम्पन्न भएको छ । “कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार-जगन्नाथ गाउँपालिका विकासको मूल आधार” भन्ने नाराका साथ गाउँपालिकाको केन्द्र जुड्डीमा अधिवेशन आयोजना गरिएको हो ।

गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न सरोकारवालाहरुको उल्लेखनीय सहभागिता रहेको गाउँपालिकाका प्रवक्ता गणेशराज गिरीले जानकारी दिएका छन् ।

अधिवेशनमा गाउँपालिकाको समग्र विकास र सुशासन प्रवद्र्धनसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण कार्यसूचीहरू प्रस्तुत भई विस्तृत छलफल गरिएको उनले बताएका छन् ।

अधिवेशनमा लेखा समिति गठन तथा कार्य सञ्चालन कार्यविधि २०८२, बेरुजु फछ्र्यौट कार्यविधि २०८२, गाउँसभा सचिवालय स्थापना तथा कार्य सञ्चालन कार्यविधि २०८२, साथै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ माथि छलफल भई प्रस्तुत गरिएको गाउँपालिकाले जनाएको छ ।

छलफलपछि सम्बन्धित विषयमा आवश्यक निर्णयहरू समेत गरिएको छ । गाउँपालिकाले स्थानीय शासन प्रणालीलाई अझ प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यले यस्ता कार्यविधि तथा विधेयकहरू अघि सारेको स्पष्ट पारेको छ ।

अधिवेशनलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले पालिकाको समग्र विकासका लागि स्पष्ट नीति, सुदृढ विधि र कडाइका साथ आर्थिक अनुशासन कायम गर्दै पारदर्शी तथा जनमुखी सेवा प्रवाहमा जोड दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र बहादुर शाहीले आर्थिक, प्रशासनिक तथा कार्यविधिगत प्रस्तावहरू प्रस्तुत गर्दै पारित भएका निर्णयहरूको प्रभावकारी कार्यान्वयनमा कर्मचारी संयन्त्र पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।

कार्यसूची अनुसार प्रस्तावहरू गाउँपालिकाका प्रवक्ता गणेशराज गिरी, वडा अध्यक्ष धनवीर सार्की, गौरी सार्की तथा रेशम बहादुर शाहीले पेश गरेका हुन् ।

अधिवेशनको अन्त्यमा गाउँसभाका अध्यक्षले समापन मन्तव्य व्यक्त गर्दै सबै सरोकारवालाको सहकार्य र सहभागिताबाट निर्णयहरू प्रभावकारी रूपमा कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन् ।
 

प्रतिक्रिया