बाजुरा : युवा नेता नरेश रोकाया एमाले केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन् । भृकुण्टीमण्डपमा जारी एमालेको ११ औँ राष्ट्रिय महाधिवशेनमा युवा कलष्टरबाट सर्वसम्मत सदस्यमा निर्वाचित भएका हुन् ।
दुई पदका लागि निर्धारण गरिएको उक्त कलष्टरमा रोकायासँगै सुशील कुमार थापाको मात्रै उम्मेदवारी परेका कारण दुवै जना सर्वसम्मत चयन भएका हुन् ।
बाजुराको गौमुल गाउँपालिका ३ माझपाली स्थायी घर भएका रोकाया २०६१ सालदेखि पूर्णकालीन राजनीतिमा छन् । १३ वर्षको उमेरमा २०५६ सालमा बालविकास माध्यमिक विद्यालयबाट अनेरास्ववियुमा आवद्ध भएका थिए ।
त्यो बेला विद्यालयको प्रारम्भिक कमिटीको सचिवमा संगठित भएका रोकाया २०६० सालमा अनेरास्ववियुको बाजुरा जिल्ला सदस्य बनेका थिए ।
२०६२ सालमा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सदस्य भएका उनी २०६७ सालमा अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य बनेका थिए । २०७० सालमा पुनः केन्द्रीय कमिटी सदस्यमै दोहोरिए ।
२०७२ सालमा केन्द्रीय सचिवालय सदस्य, २०७५ सालमा स्थायी कमिटी सदस्य र २०७८ सालमा उपमहासचिव पदमा निर्वाचित भएका थिए । २०७९ सालमा महासचिव बनेका रोकाया उमेरहदका कारण संगठनबाट बिदा भएका थिए ।
विद्यार्थी आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका रोकायाले पाटीको ११ औँ राष्ट्रिय महाधिवेशनबाट भने केन्द्रीय कमिटीको यात्रा तय गर्दै नयाँ जिम्मेवारी पाएका छन् ।
रोकायाले केन्द्रीय सदस्यको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । रोकायाले दुई दशकसम्म अनेरास्ववियु मार्फत विद्यार्थीको आवाज बनेर उनीहरुको भावना र मुद्दा बोकेर काम गरेका थिए । अब भने जनताको मुद्दा लिएर अघि बढेका छन् ।





प्रतिक्रिया