गाैमुल खबर डटकम सोमबार १५, मङि्सर २०८२ ०६:५४

शैक्षिक गुणस्तरलाई नयाँ उचाइमा पुर्याउने दृढ संकल्प गरौँ : उपाध्यक्ष थापा

तीन दिने क्षमता विकास तालिम सम्पन्न
बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, कार्तिक २८, २०८२
शैक्षिक गुणस्तरलाई नयाँ उचाइमा पुर्याउने दृढ संकल्प गरौँ : उपाध्यक्ष थापा

बाजुरा ः गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले गाउँपालिकाको शिक्षा क्षेत्रमा दीर्घकालीन सुधार ल्याउन सबै सरोकारवालाबीच गम्भीर प्रतिबद्धता र सहकार्यको आवश्यकता रहेको बताएकी छन् ।

उनले शैक्षिक गुणस्तरलाई नयाँ उचाइमा पुर्याउनका लागि गाउँपालिकादेखि विद्यालयसम्म जिम्मेवारीपूर्वक काम गर्न सबैलाई आग्रह गरिन् ।

विद्यालयका लेखा तथा प्रशासन शाखामा कार्यरत कर्मचारीहरूलाई लक्षित गरी आयोजित तीनदिने क्षमता अभिवृद्धि तालिमको समापन कार्यक्रममा बोल्दै उपाध्यक्ष थापाले विद्यालयको समग्र सुधारमा प्रशासनिक दक्षता अत्यन्त महत्वपूर्ण हुने उल्लेख गरिन् ।

उनका अनुसार विद्यालयमा भएको आर्थिक चलखेल, अभिलेख व्यवस्थापन, शिक्षक-कर्मचारी उपस्थितिदेखि विद्यार्थीको सिकाइ उपलब्धिसम्मका विषयमा स्पष्टता र पारदर्शिता भए मात्र शैक्षिक सुधार सम्भव हुन्छ ।

थापाले गाउँपालिकाले पछिल्ला वर्षहरूमा विद्यालयका भौतिक पूर्वाधार निर्माण, कक्षा कोठा विस्तार, सिकाइ-सम्बन्धी सामग्री व्यवस्थापन तथा अन्य आवश्यक प्राविधिक सहयोगमा निरन्तर लगानी भइरहेको जानकारी दिइन् ।

भौतिक विकाससँगै शैक्षिक प्रशासन सुदृढ गर्न गाउँपालिकाले आवश्यक नीति तथा कार्यक्रम अघि सारिरहेको उल्लेख गर्दै उनले भनिन्, “हामीले संरचना बनाएर मात्र पुग्दैन, त्यो संरचनाले विद्यार्थीको सिकाइमा कस्तो प्रभाव पारिरहेको छ भन्ने पक्षमा अब सबैको ध्यान केन्द्रित हुन आवश्यक छ ।”

उनले तालिममा शिक्षित ज्ञान र सीपलाई व्यवहारमै लागू गर्न सहभागी कर्मचारीहरूलाई आग्रह गर्दै विद्यालयमा देखिएका दैनिक प्रशासनिक चुनौती समाधान गर्न प्राप्त सीप अत्यन्त उपयोगी हुने विश्वास व्यक्त गरिन् ।

थापाले विद्यालय स्तरमै पारदर्शी लेखा प्रणाली, जिम्मेवारीपूर्ण प्रशासन, समयपालन, तथा नियमित अनुगमनको अभ्यास विकसित हुन सके मात्र शिक्षा क्षेत्रमा अपेक्षित सुधार सम्भव हुने बताइन् ।

उपाध्यक्ष थापाले समुदाय, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा कर्मचारी सबैको संयुक्त सहभागिता मार्फत गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सकिने भन्दै आगामी दिनमा गाउँपालिकाले शिक्षा क्षेत्रमा अझ व्यापक सुधार कार्यक्रम अघि सार्ने प्रतिबद्धता जनाइन् ।

मानव संसाधन केन्द्र (एच.आर.सी.) बाजुराको आयोजना तथा गौमुल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वयमा कार्यक्रमको आयोजना गरिएको हो ।

बालबालिकाका लागि शैक्षिक न्याय तथा समान अवसर परियोजना अन्तर्गत तालिम प्रदान गरिएको मानव संसाधन केन्द्र (एच.आर.सी.) बाजुराका अर्जुन शाहीले जानकारी दिएका छन् । तालिममा गौमुल गाउँपालिकामा रहेका विद्यालयका प्रधानाध्यापक र लेखामा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो । 
 

प्रतिक्रिया