गाैमुल खबर डटकम मङ्गलबार १८, कार्तिक २०८२ ०४:२०

सप्तरीको सदा टोलमा हैजा पुष्टि, जनप्रतिनिधि सहित ८० जना बिरामी

एकै परिवारका तीन जनाको मृत्यु
काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, कार्तिक १८, २०८२
सप्तरीको सदा टोलमा हैजा पुष्टि, जनप्रतिनिधि सहित ८० जना बिरामी

काठमाडौं : झाडापखालाबाट एकै परिवारका तीन जनाको मृत्यु भएको सप्तरीको छिन्नमस्ता-५ मा रहेको विपन्नहरूको बस्ती सदा टोलमा हैजा संक्रमण पुष्टि भएको छ । जनप्रतिनिधिसहित ८० जना बिरामी रहेकामा सिकिस्त ५ जनालाई अस्पताल भर्ना गरिएको छ । टोलमा एउटै शौचालय छैन भने स्वास्थ्यकर्मीले सबैको दिसा परीक्षणसमेत गरेका छैनन् ।

अति विपन्न ९० परिवारको बसोबास रहेको उक्त टोलका ३३ वर्षीय बुचन सदाले झाडापखालाबाट आठ दिनको अन्तरमा परिवारका तीन सदस्यलाई गुमाएका छन् । शौचालय नभएकाले टोलका बासिन्दा छेउकै पोखरीको डिल र लुकीछिपी खेतबारीमा शौच गर्छन् । महिलाहरूलाई त शौच गर्न एकाबिहानै उठ्नुपर्ने बाध्यता छ ।

‘कहिलेकाहीं उठ्न ढिलो हुँदा झाडी खोज्दै भौतारिनुपर्छ,’ २३ वर्षीया रानी सदा भन्छिन् । बालबालिकाले घर छेउछाउमै शौच गर्छन् । धेरैजसो परिवारका सदस्य भारतको पञ्जाब र मुम्बईमा गएर ज्याला मजदुरी गरी गुजारा चलाउँदै आएका उनीहरूले आर्थिक अभावका कारण शौचालय बनाउन नसकेको ५० वर्षीय घुरन सदा बताउँछन् । वर्षाको पानी निकास नहुँदा खानेपानीका लागि जडान गरिएका तीनमध्ये एउटा चापाकल अझै डुबानमा छ ।

बाँकी दुई चापाकल पनि हिलाम्य छन् । त्यही चापाकलबाट उनीहरू पानी पिउनेदेखि नुहाउने, लुगा धुने र भाँडा माझ्ने गर्दै आएका छन् । टोलको साँघुरो बाटो हिलाम्य रहँदा हिँड्डुल गर्न समस्या छ । टोलमा झाडापखाला फैलिएर तीन जनाको मृत्यु भइसकेपछि गत शुक्रबार मात्र थाहा पाएको गाउँपालिकाले साबुन, नेल कटर, सेनिटाइजरलगायत सामग्री वितरण गरे पनि सरसफाइ भने अझै गराएको छैन ।

टोलका ठाउँठाउँमा फोहोर थुपारिँदा दुर्गन्धित छ भने वर्षा रोकिएको दुई दिन भइसक्दा पनि धेरैका आँगन अझै धान रोप्न ठिक्क पारिएको खेतझैं देखिएका छन् । सदा टोलदेखि एक किलोमिटर दूरीमा रहेको स्वास्थ्य चौकी कोचाबखारी (लोखरम) मा बर्थिङ सेन्टरसम्म सञ्चालनमा छ । तर, त्यहाँसम्मको बाटो हिलाम्य रहँदा एम्बुलेन्स पुग्ने अवस्था छैन । हिँडेर पुग्न पनि समस्यै छ ।

‘वार्षिक १८ जनालाई सुत्केरी गराउने हाम्रो लक्ष्य हो तर यहाँसम्म एम्बुलेन्स नआउँदा ३ महिनायता २ जना मात्र सुत्केरी हुन आउनुभएको छ’, स्वास्थ्य चौकीका प्रमुख सिनियर अहेब आलोकरञ्जन झा भन्छन् । ऐलानी जग्गामा बसोबास गरिरहेका सदा समुदायले नै चन्दा संकलन गरेर २०६१ मा स्थापना गरेको श्री दलित राष्ट्रिय प्राथमिक विद्यालय लोखरमको अवस्था पनि बेहाल छ । त्यसअघि दुईवटा कोठामै बहुकक्षा (चार वटा कक्षा) सञ्चालन हुँदै आएकामा ०८१ मा मधेश प्रदेश सरकारले दुईकोठे विद्यालय भवन बनाउन थाले पनि अधुरै छ ।

कक्षा ४ सम्म पठनपाठन हुने त्यस विद्यालयमा सदा समुदायका १ सय ३४ जना बालबालिका अध्ययरत छन् । तर, भवन बालमैत्री छैन भने त्यहाँ पनि शौचालय र चापाकल छैन । पुरानो विद्यालय भवनमा रहेको चापाकल पनि हिलाम्य छ । ५ जना दरबन्दी रहेको त्यस विद्यालयमा राहत, पीसीएफ र बाल विकासमा चार जना शिक्षक मात्र छन् ।टोलका ८० जना झाडापखालाले प्रभावित हुँदा पनि अहिलेसम्म ९ जनाको मात्रै आरडीटी (र्‍यापिड डायग्नोस्टिक टेस्ट) भएको छ ।

तीमध्ये ४ जनामा हैजा (कोलेरा भिब्रिओ कोलरी) पोजेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सिनियर अहेब दीपेन्द्रप्रसाद यादवले बताए । ‘सरसफाइ र पानी परीक्षणलगायत पनि सुरु गर्छौं,’ उनले भने, ‘प्रभावितले दिसाको नमुना नदिँदा पनि आरडीटी गर्न समस्या भइरहेको छ । अहिलेसम्म हामीले २३ जनालाई बट्टा दिँदा पनि ११ जनाले मात्रै नमुना दिनुभएको छ तर अहिले दुई जनाको टेस्ट गर्न बाँकी छ ।’

उनका अनुसार वडा सदस्य ६५ वर्षकी अरहुलियादेवी सदा र आरडीटीमा पोजेटिभ देखिएका सुरज सदाकी ३ वर्षीय छोरा मनीष, शिवकुमार सदाका ७ वर्षीय छोरा अमन र सुबोध सदाकी ३० वर्षीया पत्नी रेखादेवी सदा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना छन् । पखाला लागेर सिकिस्त भएकी वडा सदस्य अरहुलियालाई आइतबार राति भर्ना गरिएको हो ।

उनीहरूको स्वास्थ्य अवस्था समान्य रहेको अस्पताल मेडिकल सुपरिन्टेन्डेन्ट डा.प्रकाश साहले बताए । गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले पालिकामा अधिकांश सर्वसाधारण आर्थिक र सामाजिक रूपमा पछाडि परेका कारण सबै ठाउँमा शौचालय बनाउन नसकेको बताए । ‘पालिकाको धेरै क्षेत्रमा अझै शौचालय छैन, पालिकाको एक्लो स्रोतले सबै ठाउँमा शौचालय बनाउन पनि सकिँदैन’ उनले भने, ‘सबै क्षेत्रमा शौचालय बनाउनका लागि दातृ निकायसँग सहकार्य भइसकेको छ ।

अब बनाउँछौं ।’ २ कात्तिकबाट सुरु भएको झाडापखालाले ६ कात्तिकमा बुचनका एक वर्षको छोरा सञ्जीव, ११ कात्तिकमा ६६ वर्षका बुबा लक्ष्मण र १४ कात्तिकमा ४ वर्षकी छोरी राघिनीको मृत्यु भएको थियो ।

प्रतिक्रिया