गाैमुल खबर डटकम शनिबार ०८, कार्तिक २०८२ ०९:५७

खप्तड छेडेदहको आर्टीचौरमा फुटबलपछि क्रिकेटको क्रेज बढ्दै

बाजुरा
भानुभक्त आचार्य
शनिबार, कार्तिक ०८, २०८२
खप्तड छेडेदहको आर्टीचौरमा फुटबलपछि क्रिकेटको क्रेज बढ्दै

बाजुरा ः २०७६ सालदेखि लगातार छेडेदह कप फुटबल प्रतियोगिता आयोजना गरिरहेको छेडेदह स्पोट्र्स क्लबको पहिलो पटक जिल्लामा छेडेदह क्रिकेट प्रतियोगिता आयोजना गरेको छ । सामान्य फुटबल प्रतियोगिताबाट सुरु भएको छेडेदह कप गोल्डकप सम्म पुगेको थियो ।

कैलाली र कञ्चनपुरपछि पहाडी सात जिल्लामा पहिलो पटक गोल्डकप आयोजना गरिएको क्षेत्रमा अहिले क्रिकेट प्रतियोगिता सुरु भएको छ । छिमेकी बुढीनन्दा नगरपालिकाका मेयर जनक बोहराले उद्घाटन गरेको छेडेदह क्रिकेट प्रतियोगिताले सुदूरको पहाडी जिल्लामा क्रिकेटको क्रेज बढाउने अपेक्षा गरिएको छ ।

‘सुदूरपश्चिम क्रिकेटको उर्वर भूमि हो । राष्ट्रिय टिममा पनि थुप्रै खेलाडीहरू सुदूरपश्चिमका छन् । क्रिकेटको भूमिमा अझै क्रिकेट खेलाडीहरू उत्पादन गराउन हामीले यो प्रतियोगिता आयोजना गरेका हौँ ’ प्रतियोगिता संयोजक कृष्ण ओलीले भने ‘छेडेदहलाई हामी खेलकुदको माध्यमबाट देशभरि चिनाउन चाहन्छौँ ।’

पहिलो पटक व्यवसायीक रूपमा आयोजना गर्न लागिको क्रिकेट प्रतियोगितामा ८ टिम सहभागी छन् । ती मध्ये आधा टिम एउटै पालिका भित्रका छन् । आटीचौरमा आयोजना भइरहेको प्रतियोगिताको विजेताले २१ हजार र उपविजेताले ११ हजार नगद पाउने छन् ।

‘हामीले पहिलो पटक क्रिकेटको क्रेज बढाउन प्रतियोगिता आयोजना गर्न लागेका हौँ यसको सफलतापछि हामी प्रत्येक वर्ष यसलाई अझै भव्य बनाउने छौँ ’ आयोजक क्लबका अध्यक्ष लोकेन्द्र खड्काले भने ‘फुटबल पछि हामीले क्रिकेट गर्दै छौँ । अन्य खेलहरू पनि आयोजना गरेर यो भूमिलाई खेलकुदको हब बनाउने छौँ ।’

छेडेदहमा ताल नजिकै क्रिकेट मैदान बनाउने योजना अघि सारिएको छ । यो मैदान सुदूरपश्चिम प्रदेशका सबैभन्दा रमणीय मैदान बनाइने बताइएको छ ।

आगामी १० गतेसम्म चल्ने क्रिकेट प्रतियोगिता उद्घाटन गर्दै बुढीनन्दा नगरपालिका प्रमुख जनक बोहराले प्राकृतिक रूपले अत्यन्त सुन्दर रहेको छेडेदहमा आयोजना हुने साना ठुला प्रतियोगिताहरूले यहाँको पर्यटन प्रवर्द्धनमा निकै ठुलो टेवा पुग्ने बताएका थिए ।

‘बाजुरामा समस्या मात्रै छैन त्यो भन्दा कयौँ धेरै सम्भावनाहरू छन् । अब त्यस्ता सम्भावनाहरूले यस्ता प्रतियोगिताहरूको माध्यमबाट नागरिकहरूले थाहा पाउने छन् मेयर बोहराले भने, छेडेदह पनि आफैमा सुन्दर क्षेत्र हो ।

अब यसको पनि उजागर हुने छ ।’ आटिचौरमा विभिन्न खेलकुदका गतिविधि बढ्दा छेडेदह ताल, बढालेक क्षेत्र, डाँडासैन, बथानलेख र कुडीकोट दरबारको प्रवर्द्धनमा पनि टेवा पुग्ने अपेक्षा यहाँका स्थानीयले गरेका छन् ।

प्रतिक्रिया