बाजुरा ःजिल्लाको खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय बाजुराले चाडपर्वलाई लक्षित गरी सहुलियत दरमा चामल बिक्री गर्न सुरु गरेको छ । जिल्लाको गौमुल गाउँपालिकाका उपभोक्तालाई लक्षित गरी सहुलियत दरमा चामल बिक्री गर्न सुरु गरेको हो ।
गाउँपालिकाको पहलमा सहुलियत मूल्यमा चामल बिक्री तथा वितरण गरिएकोले नागरिकहरुको दैनिकी सहज बनाउने र बजारमा देखिएको मूल्य वृद्धिको असरमा नपर्न आम नागरिकलाई उपाध्यक्ष सीता थापाले आग्रह गरेकी छन् ।
गाउँपालिकाले उपलब्ध स्रोत र साधन अनुसार नागरिकको साथमा रहँदै राहतका कार्यक्रम ल्याउनु जिम्मेवारी भएकोले सहुलियत चामल बिक्री प्राविधिक समस्याले केही ढिलो भएको प्रतिक्रिया दिएकी छन् ।
निष्पक्ष र पारदर्शी ढंगले वितरण गर्नका लागि गाउँपालिकाले सम्बन्धित कर्मचारीहरूलाई परिचालन गरेको थापाको भनाई रहेको छ ।
खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड केन्द्रीय कार्यालयको कार्यविधि अनुसार दुर्गम हिमाली भेगका उपभोक्ताको सहजका लागि भदौ ३० देखि कात्तिक १० गतेसम्म दशैं तिहार, छठ लगायतका चाडपर्वलाई लक्षित गरी जिल्लामा सहुलियतको चामल, तेल, चिनी बिक्री गर्ने गरिएको छ ।
गौमुलमा प्रति व्यक्ति ५० केजीका हिसाबले वितरण गरिने भएको छ । चामल लिन आउँदा नागरिकताको फोटोकपी र सम्पर्क नम्बर अनिवार्य गरिएको छ । अरुवा मोटा चामलमा प्रतिकिलो पाँच रुपियाँ उपभोक्ताले सहुलियत पाउने कार्यालयले जनाएको छ ।




प्रतिक्रिया