काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको सातौं पूर्ण बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले राजनीतिक एवं संगठनात्मक प्रस्ताव राखेका छन्।
बिहीबारबाट काठमाडौंमा सुरू भएको केन्द्रीय समिति बैठकमा प्रचण्डले अहिलेको केन्द्रीय समिति विघटन गर्दै विशेष महाधिवेशनमा जानका लागि आफ्नो नेतृत्वमा आयोजक कमिटी बनाउने प्रस्ताव राखेका छन् ।
त्यस्तै उनले तोकिएको समयमा नै निर्वाचन हुनुपर्ने र पार्टीको ध्यान निर्वाचनमा केन्द्रीत गर्नुपर्नेमा जोड दिएको बैठकमा सहभागी माओवादी नेताहरूले जनाएका छन् ।
पार्टी अध्यक्ष प्रचण्डले राखेको राजनीतिक एवं संगठनात्मकमाथि प्रदेश अनुसार प्रतिनिधि विभाजन गरी छलफल हुने र समूहका नेताले बैठकमा रिपोर्टिङ गर्ने माओवादीले जनाएको छ ।
बैठकमा पदाधिकारी र समूहका नेताले मात्रै धारणा राख्ने कार्यसूचीका बारेमा महासचिव देव गुरुङले जानकारी गराएपछि केहि नेताले आपत्ति जनाएका छन् ।
माओवादी नेता रन्जित तामाङ, सुदन किरातीलगायतले हरेक सदस्यले आफ्नो धारणा राख्न पाउनुपर्ने माग राखेका थिए । केन्द्रीय समितिको बैठक शुक्रबार सम्पन्न हुने माओवादीले जनाएको छ ।
प्रतिक्रिया