बाजुरा ः बाजुराको खप्तड छेडेदह गाउँपालिका-१ काँडामा जीप दुर्घटना भएको छ । बिहीबार बिहान ६ बजेतिर काँडाबाट अछामको साँफेबगर जादैँ गरेको जीप दुर्घटना भएको हो ।
खप्तड छेडेदह-१ गोठपाडाबस्ने अन्दाजी ३४ वर्षीया लक्ष्मण रोकायाले चलाएको सु.प.प्र.०१–००१च४१९० नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताएका छन् ।
काँडाको चौकानाभित्र सडकखण्डमा जीप रोकेर ओत लगाउने क्रममा जीप एक्कासी अगाडी बढ्दा जीप सडकबाट करिब ५० मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।
घाइते हुनेमा खप्तड छेडेदह-१ काँडा बस्ने अन्दाजी ८० वर्षीया तुरु सुनार, ४५ वर्षीया पार्वती विक, ६० वर्षीया तिल्दी सुनार, शान्ति विक, ७० वर्षका श्यामलाल विक र बडीमालिका नगरपालिका–९ बस्ने अन्दाजी २९ वर्षकी बिन्दु विक रहेका छन् ।
घाइते सबैको अहिले अछामको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ । घाइते भएका केही बाहेक सबैको अवस्था सामान्य रहेको बताईएको छ । जीप चालक रोकायालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया