गाैमुल खबर डटकम शुक्रबार ०५, बैशाख २०८२ ०५:५४

त्रिवेणीका जनप्रतिनिधि र कर्मचारी हराएपछि खोज्दै स्थानीय

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, चैत २७, २०८१
त्रिवेणीका जनप्रतिनिधि र कर्मचारी हराएपछि खोज्दै स्थानीय

बाजुरा ःजिल्लाको त्रिवेणी नगरपालिकामा जनप्रतिनिधिहरू कार्यालय समयमा नै अनुपस्थित भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । सेवाग्राही कार्यालय पुग्दा नगर प्रमुख कर्ण बहादुर थापा, उप–प्रमुख कमला कुमारी जैशी न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी प्रसाद शाह लगायतका जनप्रतिनिधि र कर्मचारी कार्यालय छोडेर हिँडेका थिए ।

दिउँसोको समयमा सेवा लिन नगरपालिका पुगेका सचेत युवा हिमाल बुढा, खेमराज सार्की र सुशील सार्कीले प्रमुख तथा अन्य जनप्रतिनिधिहरू कार्यालयमा नभेटिएपछि तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।

‘जनताको सेवाका लागि निर्वाचित जनप्रतिनिधि नै सेवा दिने समयमा गायब हुनु अत्यन्त लज्जास्पद र गैरजिम्मेवार व्यवहार हो,’ सेवाग्राही हिमाल बुढाले भने ।

कार्यालयमा पङ्खा र कम्प्युटर खुल्ला अवस्थामा रहेको देखिए पनि जिम्मेवार पदाधिकारी भने अनुपस्थित थिए । सेवाग्राहीले खोज्दा नगर प्रमुख थापाको फोन समेत बन्द रहेको जनाइएको छ ।

स्थानीय सरकारको प्रमुख जिम्मेवारी नागरिकलाई प्रभावकारी सेवा उपलब्ध गराउनु हो तर कार्यालय समयमा नै प्रमुख जनप्रतिनिधिहरू कार्यालयमा नबस्नु स्थानीय सरकारप्रति जनताको विश्वास गुमाउने खालको कार्य भएको भन्दै स्थानीयवासीले कडा आलोचना गरेका छन् ।

‘हामी सामान्य सिफारिसको लागि पनि घण्टौं हिँडेर नगरपालिका आउँछौं, तर यहाँ आउनेबित्तिकै कोही भेटिन्न, कार्यालय खुला तर मान्छे छैनन्,’ स्थानीय युवा खेमराज सार्कीले गुनासो गरे । यसरी जनप्रतिनिधि तथा कर्मचारीको गैरजिम्मेवारीपनको कारण सेवाग्राहीहरू हैरान भइरहेका छन् ।

स्थानीय सरकारले यस्तो लापरबाही व्यवहारको छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने माग उठेको छ । उनीहरू जनप्रतिनिधि नभेटिएपछि, ‘जनप्रतिनिधि हराएको सूचना ! नगर प्रमुख खै !! उप–प्रमुख खै !!!’ लेखेको प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।

स्थानीय जनताले जनप्रतिनिधिहरूको समयअनुसार कार्यालयमा उपस्थिति सुनिश्चित गराउन र सेवाको गुणस्तरमा सुधार ल्याउन नगरपालिकाको नेतृत्वलाई खबरदारी समेत गरेका छन् । साभार ः मकालु खबर

 

प्रतिक्रिया