गाैमुल खबर डटकम मङ्गलबार २५, चैत २०८१ ०३:५१

घोडाघोडीमा तोडियो क्रान्तिकारीको विरासत, पहिलो पटक अनेरास्ववियु विजयी

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, चैत २३, २०८१
घोडाघोडीमा तोडियो क्रान्तिकारीको विरासत, पहिलो पटक अनेरास्ववियु विजयी

बाजुरा ः कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा पहिलो पटक अनेरास्ववियुका उम्मेदवार सभापतिमा निर्वाचित भएका छन् । अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलबाट उम्मेदवार बनेका अनेरास्ववियुका अशोक गौतम सभापतिमा निर्वाचित भएका हुन् ।

त्रिविअन्तर्गतको उक्त क्याम्पसमा विवाद हुँदा शनिबारमात्रै मतदान भएको थियो । आइतबार सार्वजनिक मत परिणामअनुसार गौतम ६७० मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका गणेश भण्डारीले ४२८ मत ल्याए । सचिवमा नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) का प्रवीण सिंह ५५५ मत ल्याएर विजयी भए ।

सचिवमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका भुवनराज जैशीले ४०० मत पाए । कोषाध्यक्षमा अनेरास्ववियुका सञ्जीवकुमार चौधरी ५६९ मतसहित विजयी हुँदा अखिल क्रान्तिकारीकी यालिशाकुमारी कुँवर ४१६ मतमा रोकिइन् ।

सबै सदस्यहरू पनि अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलबाटै निर्वाचित भएका छन् । घोडाघोडी क्याम्पसमा अनेरास्ववियु पहिलो पटक विजयी भएको हो । २०७३ र २०७९ मा भएको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीका उम्मेदवार विजयी भएका थिए ।

२०७३ मा क्रान्तिकारी जीवन बीसी र २०७९ मा प्रेमबहादुर बोगटी स्ववियु सभापतिमा विजयी भएका थिए । त्यसअघि २०६५ मा भएको स्ववियु निर्वाचनमा नेविसंघका चतुर्भुज ओझा सभापतिमा विजयी भएका थिए ।

प्रतिक्रिया