गाैमुल खबर डटकम सोमबार १७, चैत २०८१ ०३:४२

अन्नबाली भन्दा सुन्तला खेतीले फाईदा

बिजेढुङ्गाकी पारुले कमाईन् यस वर्ष साढे सात लाख
बाजुरा
रमित वि.क.
मङ्गलबार, फागुन ०६, २०८१
अन्नबाली भन्दा सुन्तला खेतीले फाईदा

बाजुरा ः बाजुराका गौमुल गाउँपालिका–४ बिजेढुङ्गाकी पारू रोकायाले सुन्तला खेतीबाट राम्रो कमाई गर्दै आएको छ । गाउँमा सधैँ अन्नबाली लगाएको जमिनमा पछिल्लो समय उनले सुन्तला खेती गर्न सुरु गरेपछि अहिले राम्रो कमाई गर्न थालेकी छिन् ।

गाउँमा अन्नबाली भन्दा सुन्तला खेतीले राम्रो कमाइ हुन थालेको गौमूल गाउँपालिका-४ बिजेढुङ्गाकी किसान पारू रोकायाले बताइन् । उनले भनिन्, ’पहिला गाउँमा भएको जमिनमा अन्नबाली लगाउने गरेको थिएँ।

त्यसबाट पेट पाल्नै सकस भएको थियो।’ अहिले सुन्तला विक्री गरेर साढे सात लाख आम्दानी भएकाे रोकायाले बताइन् । रोकायाले २०७४ सालमा झन्डै पाँच रोपनी जमिनमा सुन्तला खेती गरेकी थिईन् । गाउँमा रहेको पाखो जमिनमा राम्रो खेती नहुने भएपछि उनले त्यो जमिनमा सुन्तला खेती सुरु गरेकी थिइन् ।

गौमुल गाउँपालिकाले एक सय र अन्य नौ सय बोट आफैँले खरिद गरेर पाँच रोपनीमा झन्डै एक हजार सुन्तलाको बोट लगाए थिइन् । बारीमा लगाएका सबै सुन्ताल अहिले लटरम्म फल्ने गरेका छन् ।

अन्नबाली भन्दा सुन्तला खेतीले राम्रो कमाइ गर्न सकिने उद्देश्यले रोकायाले केही वर्ष पहिला यहाँको पाँच रोपनी पाखो जमिनमा सुन्तला खेती सुरु गरेकी हुन् ।

भोको पेट पाल्नका लागि सबै भारतमा कामको खोजीमा जाने गरेका उनका श्रीमान् अहिले सुन्तला विक्रीमा व्यस्त भएका छन् । सुन्तला खेतीले अहिले उनले छोराछोरीलाई समेत राम्रो शिक्षा दीक्षा दिँदै आएकी छिन् ।

पहिलो पटक परीक्षणका लागि रोपेका सुन्तलाले राम्रो कमाई हुन थालेपछि अहिले उनले गाउँमा रहेको अन्य बाँझो जमिनमा समेत सुन्तला खेती गर्ने तयारी भएको रोकायाले बताइन् ।

पछिल्लो समय गौमुल, हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ, बुढीनन्दा, बडीमालिका, त्रिवेणी, बुढीगंगा र खप्तड छेडेदह लगायतका पालिकामा सुन्तला उत्पादन हुने गरेको छ ।

यसरी बाजुरामा उत्पादन गरेको सुन्तला बजारीकरण गर्नका लागि कृषि ज्ञान केन्द्र बाजुराले ढुवानी अनुदानको व्यवस्था मिलाउँदै आएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहानीले बताएका छन् ।

गौमुलमा उत्पादित अर्गानिक सुन्तला कृषि ज्ञान केन्द्रले ढुवानी गर्ने

प्रतिक्रिया