बाजुरा ः मार्तडी-कोल्टी सडकखण्डमा पर्ने अनाईखोलामा पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । बडीमालिका नगरपालिका–७ र ९ को बिचमा रहेको सो पक्की पुलको निर्माण अन्तिम चरणमा पुगेको हो ।
आइएस पावरअफ जेभी निर्माण कम्पनीले पाँच करोड ३४ लाख १० हजार ९१८ रुपियाँको लागतमा पुल निर्माण गरिरहेको छ । सो कम्पनीसँग ठेक्का सम्झौता भएलगत्तै निर्माण अगाडि बढेकाले निर्माण कार्य अन्तिम चरणमा पुगेको भौतिक पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जंगबहादुर थापाले बताउनुभयो ।
उहाँका अनुसार सम्झौता अनुसार आर्थिक वर्षको असार मसान्तसम्म पुल निर्माण गरिसक्नुपर्ने भएकाले सोही अनुरूप निर्माणलाई तीव्रता दिइएको छ । भौतिक विकास मन्त्रालय अन्तर्गत सो पुल निर्माण भएको भौतिक पूर्वाधार विकास कार्यालय अछामले जनाएको छ ।
यस आवको असारभित्र काम सक्ने गरेर काम गरिरहेको निर्माण व्यवसायी तारादत्त जोशीले बताउनुभयो । २५ मिटर लम्बाइको अनाई पक्की पुलमा अहिले पुलमुनिको सरिया बिछ्याउने काम भइरहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “एक वर्षमै पुल निर्माण सम्पन गर्ने भनेका थियौँ तर बर्खायामको समयले साथ दिएन । अब चार/पाँच महिनाभित्र काम पूरा गर्छौं ।”
नदीका दुवैतर्फको तटबन्ध भने निर्माण गर्न बाँकी छ । ठेक्का सम्झौता अनुसार पुलको दायाँबायाँको क्षेत्रमा ५० मिटर लम्बाइको तटबन्ध निर्माण हुने इन्जिनियर हिमाल धामीले बताउनुभयो । पुलको लम्बाइ २५ मिटर छ भने चौडाइ नौ मिटर छ ।
पछिल्लो समय अनाई पुल निर्माण तीव्र गतिमा भए पनि बाजुराका धेरै निर्माण कम्पनी ठुला योजनाको काम जिम्मा लिई बिचमै अलपत्र छाडेर सम्पर्कविहीन हुने गरेका छन् । अनाई खोलामा भने तीव्र गतिमा काम भइरहेको स्थानीय कृष्ण विकले बताउनुभयो ।
अनाईखोला नजिकै रहेको बाउलीखोलामा हालसम्म काम गर्ने सुरसार देखिँदैन । बाउलीमा पुल निर्माण हुन लागेको चार वर्ष पूरा भएको छ । सो पुलको निर्माण गर्ने म्याद तीन पटक थप गरिएको छ तर पनि निर्माण हुन सकेको छैन ।
अनाई पक्की पुलको बजेट विनियोजन हुनुभन्दा तीन वर्षअगाडि नै बाउली पुलको निर्माण सुरु गरिएको हो । अनाई पुलको निर्माण अन्तिम चरणमा पुगे पनि बाउली पुलको निर्माण भने अलपत्र छ । बाउली पुल निर्माण कम्पनीलाई सडक डिभिजन अछामले स्पष्टीकरणसमेत माग गरेको छ ।
सो पुल निर्माणको जिम्मा भने जुगल निर्माण कम्पनीले लिएको छ । मार्तडी-कोल्टी सडकको अनाई र बाउली खोलामा पुल नहुँदा यातायातका साधन बर्खायाममा आवतजावत हुँदैनन् तर यस पटक पुल निर्माण भइसकेपछि यातायातका साधन निरन्तर आउजाउ हुने स्थानीयले जनाएका छन् ।
पुल निर्माण पूरा भएपछि खोलामा जोखिम मोलेर आउजाउ गर्नुपर्ने बाध्यता हट्ने नरबहादुर विकले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका दुई वटै पुल निर्माण भएपछि पूर्वीउत्तर क्षेत्रका चार पालिका र मुगु, हुम्ला, कालीकोटलगायत जिल्लाका नागरिकलाई सहज हुने भएको छ ।
यस्तै गरेर बुढीनन्दा नगरपालिकामा रहेको दानसाँगुमा बेलिब्रिज हाल्ने भनिए पनि अहिलेसम्म कुनै सुरसार नभएको पाइएको छ । बडीमालिका नगरपालिका-६, बुढीगंगा नदीमा रहेको बेलिब्रिज दानसाँगुमा सार्ने भनिए पनि सार्ने काम भएको छैन ।
प्रतिक्रिया