गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:२५
Dho

आई.एन.एफ.गौमुल गाउँपालिकाबाट निस्सरण

बाजुरा
रमित वि.क.
बिहीबार, बैशाख १३, २०८१
आई.एन.एफ.गौमुल गाउँपालिकाबाट निस्सरण

बाजुरा : गौमुल गाउँपालिकामा सेवारत संस्था आई.एन.एफ.नेपाल निस्सरण भएको छ । विगत ३ वर्षदेखि निरन्तर काम गर्दै आएको संस्था बाहिरिएको हो ।

गौमुल गाउँपालिकामा तीन वर्ष अघि लागु भएको दिगो जिविकोपार्जेनको लागि जलवायु अनुकूलन परियोजना  बिहीबारबाट सामाजिक लेखा परीक्षण सहित औपचारिक रुपमा बाहिरिएको छ ।

तीन वर्षसम्म गौमुल गाउँपालिकामा ३३ वटा कृषक समूह, २१ वटा सामुदायिक वन उपभोक्ता समिति र ५ वटा सहकारीसंग मिलेर काम गरेको निमित्त परियोजना अधिकृत ईन्द्र रोकायाले बताएका छन् ।

परियोजना बहिर्गमन कार्यक्रमको सम्बोधन गर्दै गौमुल गाउँपालिकाका कार्यबाहक अध्यक्ष प्रकाश बहादुर रोकायाले जनताको जीवन परिवर्तन गर्न महत्वपूर्ण भूमिका परियोजनाले खेलेको बताए ।

गरिब, दिनदुःखीहरुको सेवामा समर्पित संस्थाले जनताको सीप, क्षमता विकास र आर्थिक रुपमा उन्नति र प्रगति भएको बताएका हुन् । जीवन उपयोगी कार्यक्रम सञ्चालन गरेकोले जनताले व्यवहारमा कार्यन्वयन गर्नुपर्ने बेला आएको उल्लेख गरेका छन् ।

गौमुल गाउँपालिका–४ का वडा अध्यक्ष अमर विकले परियोजना बाहिरिन लाग्दा अविष्मरणीय यात्राको यात्री छुटेको जस्तो आभाष आफुहरुलाई भएको बताएका छन् ।

जनताका केही आधारभूत आवश्यकता पूरा गर्न राम्रो टेवा पुर्याएको भन्दै कार्यक्रम थप लागू हुनुपर्ने माग जनप्रतिनिधिहरुको रहेको गौमुल गाउँपालिका–५ का वडा अध्यक्ष कलक बहादुर सिंहले बताए ।

कार्यक्रम निरन्तरताको माग गर्दै परियोजनाले अमूल्य गुन लगाएर गएको सिर्जनशील कृषक समूहका अध्यक्ष समेत रहेका स्थानीय तिलक विकले बताए । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले कार्यक्रम पुनः गाउँपालिकामा तत्काल लागू हुनुपर्ने माग राखेका छन् ।

सामुदायिक स्वास्थ्य र विकास, दिगो जिविकोपार्जेन, पोषण, शिक्षा, लघुवित्त, गरिब कोष, जलवायु परिवर्तन, सामुदायिक पूर्वाधार सहयोग, अपागंता र प्रकोप व्यवस्थापन र पुनः स्थापना लगायतका बिषयमा काम गरेको हो ।

ग्रामीण क्षेत्रमा रहेका कृषकहरुलाई कृषिमा आधारित जिविकोपार्जेनमा सामेल गराउँदै जलवायु विविधता र परिवर्तन अनूकुलनमा जुट्न क्षमता बृद्धि गर्ने लक्ष्य परियोजना लिएको थियो ।

पालिकामा दिगो कृषि प्रणालीमा ग्रामीण समुदायको सीप र अभ्यासमा बृद्धि गर्ने, जलवायु विपतलाई कम गर्न स्थानीय सरकार र समुदायको क्षमता बृद्धि गर्ने, श्रम बजारको मागको आधारमा ग्रामीण क्षेत्रको महिला, युवाहरुको व्यवसायीक सीपको बृद्धि गर्ने उद्देश्य सहित कार्यक्रम सञ्चालन भएको थियो ।

०७८ साउन १ गतेदेखि ०८१ वैशाखसम्म तीनवर्षको अवधीमा अनुमानित ३ करोड खर्च गर्ने गरी गौमुल गाउँपालिका र बडीमालिका नगरपालिका १, २ र ६ नम्बर वडामा सञ्चालन भएको थियो । कार्यक्रममा गौमुल गाउँपालिकाले मायाको चिनो प्रदान गर्दै विदाई गरेको हो ।

संस्थाका तर्फबाट ३३ वटा कृषक समूह, २१ वटा सामुदायिक वन उपभोक्ता समिति र ५ वटा सहकारीलाई मायाको चिनो प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा, बाजुराका पूर्व अध्यक्ष मदनराज जैशीले सहजीकरण गरेको कार्यक्रमको अध्यक्षता आई.एन.एफ.नेपालका परियोजना अधिकृत रुक्सल हमालले गरेका हुन् ।

कार्यक्रममा गौमुल गाउँपालिका–१ का वडा अध्यक्ष देवेन्द्र बहादुर रोकाया, नेपाल पत्रकार महासंघ जिल्ला शाखा, बाजुराका सचिव रमित विक लगायत कृषक समूहका अध्यक्ष तथा प्रतिनिधि, सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष र प्रतिनिधि, आई.एन.एफ.नेपालकाका कर्मचारी लगायतको सहभागीता रहेको थियो । 

प्रतिक्रिया