गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:०१
Dho

समाज रुपान्तरणमा बाजुराका महिला समूह

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, माघ २८, २०८०
समाज रुपान्तरणमा बाजुराका महिला समूह

बाजुरा : महिलाहरुले केही गर्न सक्दैनन् भन्ने गलत मानसिकता तोड्ने गरी यतिबेला गौमुल गाउँपालिकाका महिलाहरु क्रियाशील बनेका छन् । एउटा बलियो र हिंसा रहित समाजको मेरुदण्ड हो महिला सशक्तिकरण । महिलाहरु जति सक्षम र शिक्षित हुन्छन् समाजको विकास र उत्थान त्यहीँ गतिमा हुने गर्छ ।

महिलाको शैक्षिक, आर्थिक, सामाजिक, स्वास्थ्य लगायतका सशक्तिकरणले महिला मात्रको नभई समग्र समाज र राष्ट्रको विकासमा समेत अर्थपूर्ण योगदान रहने गर्दछ । तसर्थ गौमुल गाउँपालिकाका महिलाहरु उदाहरणीय बनेका छन्, समाज विकासका लागि । विगतमा विभिन्न द्धन्द्धले आजित बनेको समाज गौमुल सरकार आएपछि शान्त बनेको स्थानीय महिलाहरुले बताउने गरेका छन् ।

समाज रुपान्तरणका लागि वडाहरुमा गठन गरिएका विभिन्न महिला समूहरु दैनिक दिन जसो सामाजिक कार्य गर्ने गरेका छन् ।  समाज परिवर्तन गर्न टोल स्तरबाट नै महिलाहरु जागृत हुन् थालेका छन् । समाजमा हुने अनेक प्रकारका विभेद तथा अवाञ्छित गतिविधिहरुको हटाउने गरी सक्रिय बनेका छन् । गाउँ तथा टोलमा रहेका सार्वजनिक संरचनाको सरसफाई, मर्मत सम्भार र समाज हुने छाउपडी प्रथा, जातीय विभेद निर्मूल पार्ने गरी अघि बढेका छन् ।

गौमुल गाउँपालिका–४ मा रहेका महिला समूह पनि समाज रुपान्तरणको अभियानमा यतिबेला सक्रिय देखिएका छन् । वडामा गठित उत्पादन कृषक समूहले समेत यो बेला टोलमा विभिन्न क्रियाकलाप गर्ने गरेको अध्यक्ष संगीता रोकायाले बताउनुभएको छ । समूहको नेतृत्व, सहकर्मी समाजको सहजीकरण, वडा कार्यालयको समन्वयमा सार्वजनिक कार्यहरु निरन्तर गर्ने गरिएको छ । भत्केका बाटोहरु निर्माण, फोहोर व्यवस्थापन, धारा पधेँराको सरसफाई तथा मर्मत लगायत समाज रुपान्तरणमा सक्रिय रहेको सहकर्मी समाजका वडा प्रशिक्षक प्रदीप सार्कीले बताउनुभएको छ ।

प्रत्येक वडामा गठित महिला समूहरुले हाल प्रत्येक महिना गाउँ, टोल र वडाको समग्र अनुगमन गरी अवस्था बारे जानकारी लिने गरेको गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले बताउनुभएको छ ।  समग्र स्थानीय सरकारले लिएको देशको लागि दुई दिन कार्यक्रमको नीतिलाई महिला समूहहरुले कार्यान्वयन गरिरहेका उहाँले बताउनुभएको छ । समाज रुपान्तरण गर्नका लागि महिलाहरुले खेलेको भूमिकाको उपाध्यक्ष थापाले प्रशंसा गर्नुभएको छ ।

गौमुल सरकारले यसअघि नै मदिरा व्यवस्थापनको नीति लिएर मदिरा व्यवस्थापन गरेको भएपनि केही मात्रामा मदिरा सेवन गरी समाजमा द्धन्द्ध निम्तिने संकेत देखिएका कारण अबबाट महिला समूह स्थानीय सरकारको नीतिलाई कार्यान्वयन गर्ने भएका छन् ।

 

प्रतिक्रिया