गाैमुल खबर डटकम मङ्गलबार १८, कार्तिक २०८३ ०७:००

प्रेम ताल छेडेदहमा दुई दिने सांस्कृतिक तथा डेउडा उत्सव हुँदै

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, कार्तिक १८, २०८३
प्रेम ताल छेडेदहमा दुई दिने सांस्कृतिक तथा डेउडा उत्सव हुँदै

बाजुरा ः बाजुराको खप्तड छेडेदह गाउँपालिकास्थित पर्यटकीय गन्तव्य प्रेम ताल छेडेदहमा दोस्रो संस्करणको ‘छेडेदह सांस्कृतिक तथा देउडा उत्सव’ आयोजना हुने भएको छ। छेडेदह कला साहित्यिक प्रतिष्ठानको आयोजनामा आगामी कार्तिक १८ र १९ गते दुईदिने उत्सव सञ्चालन हुन लागेको हो।

स्थानीय कला, साहित्य, मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्नुका साथै प्रेम ताल छेडेदहको प्रचारप्रसार र संरक्षणमा स्थानीय समुदायलाई जिम्मेवार बनाउने उद्देश्यले उत्सव आयोजना गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष गणेश बुढाले जानकारी दिए।

उत्सवमा खप्तड छेडेदह गाउँपालिकाभित्र प्रचलनमा रहेका विविध मौलिक कला तथा संस्कृतिको प्रदर्शन र प्रस्तुति रहनेछ। अनन्ते, भुवा पर्व, लाखे नाच, पुलता, हुर्केउलौ, पञ्चेबाजा र होरिनालगायतका सांस्कृतिक प्रस्तुति उत्सवका मुख्य आकर्षणका रूपमा रहनेछन्।

यसले स्थानीय मौलिक पहिचान, परम्परा र पुस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पदालाई एउटै मञ्चमा उजागर गर्ने अपेक्षा गरिएको छ। उत्सवको पहिलो दिन स्थानीय कलाकारहरू लोकेश सुनार, रमिला नेपाली, टेक बजुरेल, प्रेम नेपाली, दीर्घ शाही, रुपेश सुनार र पूजा उखेडालगायतको सांगीतिक प्रस्तुति रहनेछ।

यस्तै, चर्चित देउडा कलाकारहरू रिता विष्ट, सुनिता कठायत, दीर्घमति ओली, पारस कटुवाल, खडक धामी र अरविन्द्र रावतले लाइभ देउडा प्रस्तुत गर्नेछन्। त्यसैगरी, गजल पारखीका लागि विशेष गजल साँझ आयोजना गरिनेछ। गजल साँझमा पूर्णबहादुर मल्ल, भेषराज बुढाथोकी, हरिष खड्का, सुनिल बुढा कछुवा, गौरव विष्ट र हिमाल उखेडालगायतका स्रष्टाले आफ्ना सिर्जना प्रस्तुत गर्नेछन्।

कार्यक्रमको सहजीकरण मिन खड्काले गर्नेछन्। नरेन्द्र ओलीको संयोजनमा कराते ग्रुपको काता प्रदर्शनसमेत गरिने आयोजकले जनाएको छ। उत्सवको उद्घाटन खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले गर्ने कार्यक्रम तय भएको छ।

उत्सवको दोस्रो दिन छेडेदह तालको संरक्षण तथा प्रवर्द्धन विषयमा अन्तरसंवाद आयोजना गरिनेछ। स्थानीय सरोकारवाला निकाय, जनप्रतिनिधि तथा सम्बन्धित पक्षबीच तालको संरक्षण, व्यवस्थापन, सम्भावना र पर्यटन प्रवर्द्धनका विषयमा छलफल गरिने प्रतिष्ठानले जनाएको छ।

कला-संस्कृतिको संरक्षणसँगै प्रकृति जोगाउने अभियान

प्रेम तालको आँगनमै आयोजना हुने उत्सव मनोरञ्जनमा मात्र सीमित नरहेर प्रकृति संरक्षण, पर्यटन प्रवर्द्धन र स्थानीय पहिचानको अभियानका रूपमा स्थापित गर्ने लक्ष्य आयोजकले लिएको छ।

प्रतिष्ठानका सल्लाहकार कृष्ण ओलीले कला, साहित्य र संस्कृतिको क्षेत्रमा प्रतिष्ठानले हरेक वर्ष सकारात्मक काम गर्दै आएको बताउँदै छेडेदह उत्सवले त्यसलाई थप उचाइ दिने विश्वास व्यक्त गरे।

‘यो कार्यक्रमले छेडेदह तालको प्रचारप्रसार मात्रै गर्दैन, तालको संरक्षणप्रति स्थानीय समुदायलाई जिम्मेवार बनाउन पनि सहयोग गर्छ। स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा पुस्तान्तरणमा समेत महत्वपूर्ण योगदान पुग्छ।

प्रकृति, पर्यटन र मौलिक पहिचानलाई जोड्ने यो निकै राम्रो प्रयास हो,’ ओलीले भने। उनका अनुसार पर्यटकीय सम्भावना बोकेको छेडेदह ताललाई राष्ट्रियस्तरमा चिनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्न सक्छन्।

प्राकृतिक सम्पदाको प्रचारसँगै त्यसको संरक्षण गर्ने जिम्मेवारी पनि स्थानीय समुदायले नै लिनुपर्छ भन्ने सन्देश उत्सवले प्रवाह गर्नेछ।उत्सवलाई सांस्कृतिक कार्यक्रमका रूपमा मात्र नभई प्रेम तालको प्राकृतिक सौन्दर्य, स्थानीय मौलिकता र सामुदायिक एकताको संगमका रूपमा विकास गर्ने आयोजकको अपेक्षा छ।

तालको काखमा देउडा खेल्ने, स्थानीय कला–संस्कृतिमा रमाउने र प्राकृतिक सुन्दरतासँग साक्षात्कार गर्ने अवसरका रूपमा उत्सवलाई लिन आयोजकले सबैलाई आमन्त्रण गरेको छ। कार्यक्रमको सञ्चालन पछिल्लो समय चर्चामा रहेकी सञ्चालिका संगीता बुढाले गर्नेछिन्।

प्रतिष्ठानका सदस्य अनोज रावतका अनुसार उत्सवको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। खप्तड छेडेदह गाउँपालिकासँगको सहकार्यमा कार्यक्रम आयोजना हुन लागेको हो।

प्रेम तालमा रमाऔँ, मौलिक संस्कृतिमा झुमौँ र आफ्नो प्राकृतिक सम्पदाको संरक्षणमा जुटौँ भन्ने सन्देशसहित आयोजना हुन लागेको दोस्रो छेडेदह सांस्कृतिक तथा देउडा उत्सवले स्थानीय कला, संस्कृति र पर्यटनलाई एउटै मञ्चमा जोड्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया