बाजुरा ः धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा भारी हिमपातका कारण अलपत्र परेका एक युवकको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । हिमपातपछि त्रिवेणी पाटनस्थित धर्मशालामा फसेका कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ का २१ वर्षीय सागर कार्कीको शुक्रबार हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।
चार हजार दुई सय मिटर उचाइमा रहेको बडीमालिका माताको दर्शन गरेर फर्कने क्रममा हिमपात भएपछि कार्की शुक्रबारदेखि त्रिवेणी पाटनस्थित धर्मशालामा बस्न बाध्य भएका थिए । प्रतिकूल मौसमका कारण पैदल यात्रा गर्न कठिन भएपछि हेलिकप्टर मार्फत उद्धार गरी उनलाई सदरमुकाम मार्तडी ल्याइएको प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार उद्धार गरिएका कार्कीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यसैबीच, बडीमालिका क्षेत्रमा सम्पर्क विहीन भएका कञ्चनपुरको बेदकोट नगरपालिका दैजीका २० वर्षीय मनिष बोहराको खोजी कार्यका लागि नेपाली सेनाको ईश्वरीबक्स गुल्मबाट आवश्यक जनशक्ति सहित हेलिकप्टर त्यसतर्फ पठाउने तयारी गरिएको छ ।
गत असोज ९ गते सदरमुकाम मार्तडीबाट सम्पर्क विहीन भएका दुई जनासहित पाँच जनाको टोली बडीमालिका यात्रामा निस्किएको थियो । उक्त टोली मध्ये पूर्वी नेपालका तीन जना भने बडीमालिकाबाट फर्किएर मार्तडी पुगिसकेका छन् ।
हिमपातका कारण बडीमालिका क्षेत्रमा आवतजावत कठिन बनेको छ । एक युवकको उद्धार भएपनि अर्का युवकको अवस्था अझै अज्ञात रहेकाले खोजी कार्यलाई तीव्रता दिनुपर्ने अवस्था छ ।





प्रतिक्रिया