बाजुरा ःलामो समयको प्रयास र निरन्तर पहलपछि बडीमालिका नगरपालिकाको अगुवाइमा कोदोको बिस्कुट उद्योगको परीक्षण उत्पादन सुरु भएको छ। स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र स्थानीय स्रोतसाधनको उपयोग गर्ने उद्देश्यले सुरु गरिएको उद्योगले आत्मनिर्भर नगर निर्माणको अभियानमा नयाँ आशा जगाएको छ।
नगर प्रमुख अमर खड्काको पहलमा अघि बढाइएको यस प्रयासले स्थानीयस्तरमा उत्पादन हुने कोदोलाई आधुनिक तथा पौष्टिक खाद्य सामग्रीका रूपमा विकास गर्ने लक्ष्य लिएको छ। परम्परागत रूपमा उत्पादन हुँदै आएको कोदोलाई बिस्कुटमा रूपान्तरण गरी बजारसम्म पुर्याउने योजनाले स्थानीय किसान, उद्यमी र रोजगारीको खोजीमा रहेका नागरिकका लागि नयाँ अवसर सिर्जना गर्न सक्ने अपेक्षा गरिएको छ।
लामो प्रयासपछि उद्योगको परीक्षण उत्पादन सफलतापूर्वक सुरु हुनुलाई स्थानीय उत्पादनको बजारीकरण र उद्यमशीलता विकासतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। ट्रेमा तयार पारिएका कोदोका बिस्कुटले स्थानीय कृषि उत्पादनलाई मूल्य अभिवृद्धि गर्दै व्यावसायिक उत्पादनमा जोड्ने सम्भावना देखाएका छन्।
नगर प्रमुख खड्काको पहलमा अघि बढेको यो प्रयासले स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै रोजगारी सिर्जना गर्ने र बाह्य उत्पादन माथिको निर्भरता घटाउने दिशामा योगदान पुर्याउने विश्वास गरिएको छ।
उद्योगको परीक्षण उत्पादनपछि गुणस्तर, बजारको माग र व्यावसायिक सम्भावनालाई ध्यान दिँदै उत्पादनलाई थप व्यवस्थित बनाउन सके कोदो खेती गर्ने किसानदेखि उपभोक्तासम्म लाभ पुग्ने अपेक्षा गर्न सकिन्छ।





प्रतिक्रिया