गाैमुल खबर डटकम बिहीबार ०६, कार्तिक २०८३ ०४:५७

गौमुल-१ मा खेलकुदसँगै मौलिक संस्कृतिको उत्सव : युवाको प्रतिभा सम्मानदेखि बृहत् सांस्कृतिक कार्यक्रमसम्म

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, कार्तिक ०४, २०८३
गौमुल-१ मा खेलकुदसँगै मौलिक संस्कृतिको उत्सव : युवाको प्रतिभा सम्मानदेखि बृहत् सांस्कृतिक कार्यक्रमसम्म

बाजुरा ः गौमुल गाउँपालिका-१ नम्बर वडा कार्यालयको आयोजनामा विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा खेलकुद प्रतियोगिता सहित बृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।

स्थानीय युवाको प्रतिभा उजागर गर्ने, खेलाडीलाई प्रोत्साहन तथा सम्मान गर्ने र मौलिक कला, संस्कृति एवं परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।

वडा कार्यालयको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा डेउडा गीत-संगीत, मौलिक सांस्कृतिक प्रस्तुति सहित स्थानीय प्रतिभालाई आफ्नो कला प्रदर्शन गर्ने अवसर प्रदान गरिनेछ ।

साथै, भलिबल, फुटबल र क्रिकेट लगायत खेलकुद गतिविधि मार्फत युवामा खेलप्रतिको आकर्षण बढाउने, आपसी सद्भाव कायम गर्ने र गाउँमा खेलकुदको वातावरण निर्माण गर्ने लक्ष्य राखिएको छ ।

वडा अध्यक्ष देवेन्द्रबहादुर रोकायाले युवा तथा खेलाडीको प्रतिभाको सम्मान र प्रोत्साहन गर्दै गाउँको कला, संस्कृति र पहिचानलाई जीवन्त राख्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

उहाँले युवाको क्षमता पहिचान गरी उनीहरूलाई सकारात्मक र सिर्जनात्मक गतिविधिमा जोड्नु आवश्यक रहेको उल्लेख गर्दै कार्यक्रमले स्थानीय युवामा उत्साह थप्ने विश्वास व्यक्त गर्नुभयो ।

खेल संयोजक सुरेश रोकायाका अनुसार कार्यक्रमको तयारी भइरहेको छ । प्रतियोगितालाई व्यवस्थित र उत्साहजनक बनाउन आवश्यक तयारी अघि बढाइएको उहाँले बताउनुभयो ।

वडामा रहेका युवाको ऊर्जा, क्षमता र सिर्जनशीलतालाई सही दिशामा परिचालन गर्दै खेलकुद तथा सांस्कृतिक क्षेत्रको विकासमा योगदान पुर्‍याउने कार्यक्रमको अपेक्षा गरिएको छ ।

यस्ता कार्यक्रमले गाउँमा लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउनुका साथै नयाँ पुस्तामा मौलिक संस्कृति हस्तान्तरण गर्न र सामाजिक एकता बलियो बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

खेलकुदमा प्रतिस्पर्धा, संस्कृतिमा एकता र युवाको प्रतिभामा सम्मान भन्ने भावना सहित आयोजना हुन लागेको कार्यक्रमले गौमुल-१ को पहिचानलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ ।

सांस्कृतिक कार्यक्रम २०८३ कात्तिक ८ गते आयोजना हुनेछ भने भलिबल, फुटबल र क्रिकेट प्रतियोगिता कात्तिक ९ गतेदेखि सञ्चालन हुने भएका छन् ।

प्रतिक्रिया