काठमाडौं : यस वर्षको दशैँका बेला प्रायः देशका सबै ठाउँको मौसम सफा रहनेछ। मौसम पूर्वानुमान महाशाखाले जारी गरेको साप्ताहिक मौसम पूर्वानुमान अनुसार देशका केही भू-भागमा सामान्य वर्षाबाहेक मौसम सफा रहनेछ।
फूलपातीका दिन कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा सामान्यतया बादल लाग्नेछ भने देशका अन्य हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने सम्भावना छ।
मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ।
देशका हिमाली भू–भाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्नेछ।
अष्टमीका दिन देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने सम्भावना छ। मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ।
दशैँको अघिल्लो दिन कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा आंशिक बदली रहनेछ। देशका बाँकी भू–भागमा मौसम मुख्यतः सफा रहने सम्भावना छ। यी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ।
दशैँको टीकाको दिन पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा आंशिक बदली रहने पूर्वानुमान छ। देशका बाँकी भू–भागमा मौसम मुख्यतः सफा रहनेछ। यी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यो अवधिमा देशका अधिकांश भू–भागमा मौसम सफा रहने देखिए पनि हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा बदली, हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।





प्रतिक्रिया