बाजुरा ःअसोज ८ देखि १२ गतेसम्म देशका अधिकांश भेगमा भारी वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ । यस्तोमा सुदूरपश्चिम प्रदेशका जिल्ला प्रशासन कार्यालयदेखि स्थानीय तह र सुरक्षा निकायसम्मले पनि पूर्वतयारी तीव्र बनाएको बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्वी नेपालदेखि सुदूरपश्चिमसम्म भारी वर्षा हुने सम्भावना छ । असोज ९ र १० गते अर्थात् शुक्रबार र शनिबार ठुलो वर्षाको जोखिम देखिएको छ ।
बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली नेपालतर्फ प्रवेश गर्दा वर्षा बढ्न सक्ने विभिन्न मौसम मोडलले देखाएको बताइएको हो । भारी वर्षाको सम्भावनासँगै सुदूरपश्चिममा बाढी, डुबान र पहिरोको जोखिमलाई ध्यानमा राख्दै जिल्लास्तरमा पूर्वतयारी अघि बढाइएको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार सम्भावित विपद्लाई ध्यानमा राखेर जिल्लाका स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति र विपद्को क्षेत्रमा काम गर्ने निकायलाई सचेत गराइएको छ ।
जिल्ला सुरक्षा समन्वय समितिको बैठकमा पनि सम्भावित जोखिमबारे छलफल गरिएको र मार्तडी-साफेबगर सडकखण्डमा रातिको आवागमन बन्द गर्ने विषयमा समेत छलफल भइरहेको उनले बताए । ‘विज्ञप्ति निकालेर सबैलाई सचेत गराउने काम भइरहेको छ, ‘बाढी र पहिरोको जोखिममा रहेका बस्तीका नागरिकलाई सचेत गराउने तथा आवश्यक परे माइकिङ गर्ने काम पनि भइरहेको छ,’ निरौलाले भने । उनका अनुसार जिल्लामा १ सय ३० भन्दा बढी बस्ती बाढी तथा पहिरोको जोखिममा छन् ।
दार्चुलाले भने सम्भावित जोखिमलाई मध्यनजर गर्दै जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न थालेको छ । प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलका अनुसार मौसमसम्बन्धी बुलेटिन सार्वजनिक भएपछि जिल्लालाई उच्च जोखिममा राखेर स्थानीय तह र अन्य सरोकारवाला निकायलाई सचेत गराइएको छ । उनका अनुसार व्याँस गाउँपालिका-४ मडगाउँका जोखिममा रहेका स्थानीयलाई पालिकाको समन्वयमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
नदी तटीय क्षेत्रका बस्ती र बजारमा समेत जोखिम रहेको प्रशासनले जनाएको छ । गोकुलेश्वर र खलंगालगायत क्षेत्रमा नदीको बहाव बढ्दा समस्या आउन सक्ने भएकाले निगरानी बढाइएको छ । सम्भावित पहिरो तथा बाढीका कारण राजमार्ग अवरुद्ध हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै खाद्यान्न मौज्दात राख्न पनि भनिएको पौडेलले बताए । ‘राजमार्ग अवरुद्ध हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै दुई महिनासम्म पुग्ने खाद्य सामग्री मौज्दात गर्न भनेका छौँ,’ उनले भने । अस्पतालहरूलाई पनि विपद्का बेला घाइते तथा बिरामीको उपचार व्यवस्थापन गर्न सक्ने गरी तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।
जिल्ला अस्पताल, गोकुलेश्वर अस्पताल तथा स्थानीय तहअन्तर्गत अस्पताललाई आवश्यक तयारी गर्न भनिएको छ । रेडक्रसलाई समेत राहत सामग्री तयारी अवस्थामा राख्न भनिएको पौडेलले बताए । कैलालीमा भने कर्णाली, मोहनालगायत नदीको बहाव र मौसमसम्बन्धी सूचना नियमित लिने तथा नदी तटीय बस्तीलाई समयमै सचेत गराउने तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार डुबानको जोखिममा रहेका क्षेत्रमा उद्धार टोली तथा आवश्यक सामग्री तयारी अवस्थामा राखिनेछ ।
‘नदीको अवस्था र मौसमसम्बन्धी सूचना लिएर नदी किनारका बस्तीलाई अलर्ट गर्ने र आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी छ,’ उनले भने । उनका अनुसार पहाडी क्षेत्रमा पहिरोको सम्भावनालाई ध्यानमा राख्दै स्काभेटर तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई भनिएको छ । डुबान र पहिरोबाट प्रभावित नागरिकको उद्धारका लागि आवश्यक सामग्रीसमेत तयारी अवस्थामा राखिनेछ । यस्तै बझाङ, बैतडी, अछाम, डडेल्धुरा, डोटी, कञ्चनपुरमा पनि आवश्यक तयारी सूचना जारी गर्ने काम गरिएको त्यहाँका सम्वन्धीत प्रशासन कार्यालय र स्थानीय तहले जानकारी दिएका छन् ।
जल तथा मौसम विज्ञान विभाग, कार्यालय अत्तरियाका प्रमुख इन्जिनियर सञ्जयकुमार साहले अहिले नै न्यूनचापीय प्रणालीले कुन क्षेत्रमा कति वर्षा गराउँछ भन्ने यकिन आकलन गर्न कठिन भए पनि आगामी दिनमा पूर्वदेखि पश्चिमसम्म वर्षा हुने संकेत देखिएको बताए । उनका अनुसार सुदूरपश्चिममा बाढी, डुबान, पहिरो र नदी कटानको जोखिम रहेका क्षेत्रमा तत्काल पूर्वतयारी आवश्यक छ । ‘विपद् आउनुअघि नै तयारी गर्नुपर्छ । पूर्वतयारी नै विपद् न्यूनीकरणको मुख्य आधार हो,’ साहले भने ।
उनले विगतमा कञ्चनपुरको दोधारा चाँदनी, लालझाडी र पुनर्वासलगायत क्षेत्रमा अत्यधिक वर्षा हुँदा पनि पूर्वतयारीका कारण मानवीय क्षति न्यून गर्न सकिएको उदाहरण दिए । कञ्चनपुरमा दोधारा चाँदनी, लालझाडी र पुनर्वास तथा कैलालीमा धनगढी, भजनी, कैलारी र टीकापुर बाढी तथा डुबानको उच्च जोखिममा रहेका क्षेत्र हुन् । चुरे क्षेत्रका स्थानीय तहमा भने पहिरोको जोखिम बढी छ । ‘पालिकाहरूले सुरक्षित स्थान पहिचान गर्ने, उद्धारमा खटिने जनशक्ति तयारी अवस्थामा राख्ने र आवश्यक अभ्यास पहिल्यै गर्ने हो भने मानवीय क्षति शून्यमा झार्न सकिन्छ,’ साहले भने ।
उनका अनुसार लगातार वर्षा हुँदा पहाडी तथा हिमाली जिल्लामा पहिरोको जोखिम बढ्ने, चुरे तथा तराई क्षेत्रमा बाढी र डुबानको समस्या आउन सक्ने भएकाले क्षेत्रअनुसार तयारी आवश्यक छ । सुदूरपश्चिम प्रदेशको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनाले यस वर्ष प्रदेशका करिब ७ हजार ६ सय ३ घरधुरीका ३२ हजार २ सय २७ जना मनसुनजन्य विपद्बाट प्रभावित हुनसक्ने अनुमान गरेको छ । जोखिमको दृष्टिले तराईका कैलाली र कञ्चनपुर तथा पहाडी जिल्लाका विभिन्न बस्तीलाई उच्च प्राथमिकतामा राखिएको छ ।
कञ्चनपुरमा ७ हजार १ सय ३२ जना र कैलालीमा ६ हजार १ सय ९५ जना प्रभावित हुनसक्ने प्रक्षेपण गरिएको छ । डोटी, बाजुरा, बैतडी, डडेल्धुरा, बझाङ, अछाम र दार्चुलामा पनि विपद्को जोखिम रहेको प्रदेशको तथ्याङ्कले देखाउँछ । गत आर्थिक वर्षमा सुदूरपश्चिममा बाढी, पहिरो र चट्याङका कारण मात्रै ६ करोड २५ लाख रुपैयाँभन्दा बढी आर्थिक क्षति भएको थियो । प्रदेश विपद् व्यवस्थापन कोषमा ७ करोड रुपैयाँभन्दा बढी रकम रहेको र विपद् आइपरे तत्काल उद्धार तथा राहतका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको प्रदेश सरकारले जनाएको छ ।
धनगढीको गेटास्थित आपत्कालीन गोदाममा टेन्ट, त्रिपाललगायत गैरखाद्य सामग्री भण्डारण गरिएको छ । विपद्का कारण घर गुमाउने परिवारलाई पुनर्निर्माण अनुदानको व्यवस्था पनि गरिएको छ । तराईमा ३ लाख, पहाडमा ४ लाख र हिमाली क्षेत्रमा ५ लाख रुपैयाँसम्म अनुदान उपलब्ध गराउने व्यवस्था रहेको छ ।सम्भावित विपद्को क्षति घटाउन यस वर्ष पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने तयारी गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागसँगको समन्वयमा रेडियो, एसएमएस तथा स्थानीय समुदायमार्फत जोखिमको सूचना प्रवाह गर्ने योजना छ । स्थानीय तहमा वडा तहका जनप्रतिनिधि, वडघर, भलमन्सा तथा समुदायका अन्य अगुवामार्फत समेत सूचना पुर्याउने तयारी गरिएको छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले पनि सम्भावित जोखिम क्षेत्रको पहिचान, स्थानीयलाई समयमै सूचना दिने र उद्धारका लागि आवश्यक समन्वय गर्ने तयारी गरेको जनाएको छ ।
तराईका कैलाली र कञ्चनपुरमा नदीको बहाव बढ्दा बस्ती डुबानमा पर्ने तथा खेतीयोग्य जमिनमा क्षति हुने जोखिम छ । पहाडी जिल्लामा भने लगातारको वर्षापछि सडक अवरुद्ध हुने, बस्ती जोखिममा पर्ने र यातायात प्रभावित हुने समस्या प्रमुख चुनौती बन्ने गरेको छ । विशेषगरी अव्यवस्थित सडक निर्माण तथा पानीको प्राकृतिक निकास अवरुद्ध हुँदा पहिरोको जोखिम बढ्ने गरेको विज्ञहरूको भनाइ छ ।
सरकार तथा स्थानीय प्रशासनले पूर्वतयारीलाई प्राथमिकता दिए पनि भारी वर्षाको समयमा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकको सतर्कता र समयमै सुरक्षित स्थानमा स्थानान्तरण महत्त्वपूर्ण हुने देखिन्छ । पूर्वसूचना पाउनेबित्तिकै जोखिमयुक्त बस्ती खाली गराउने, नदीको अवस्था निरन्तर निगरानी गर्ने, उद्धार सामग्री र जनशक्ति तयारी अवस्थामा राख्ने तथा सडक अवरोध हटाउन उपकरण परिचालन गर्ने तयारीलाई प्रभावकारी बनाउन सके मानवीय क्षति न्यूनीकरण गर्न सकिने विज्ञहरुको भनाइ छ ।





प्रतिक्रिया