काेल्टी बाजुरा ःबाजुराको बुढीनन्दा नगरपालिकामा महिला तथा युवालाई लक्षित गरी तीनदिने उद्यम तथा उद्यमशीलता क्षमता विकास तालिम सुरु भएको छ।
वि.एम.जेड. र वेल्ट हंगर हिल्फे (WHH)को आर्थिक तथा प्राविधिक सहयोगमा लि-बर्ड, महिला उद्यमी महासंघ नेपाल र कर्णाली सामुदायिक विकास केन्द्रद्वारा बाजुराको बुढीनन्दा नगरपालिका र मुगुको खत्याड गाउँपालिकामा सञ्चालित EMPOWER परियोजना अन्तर्गत तालिम आयोजना गरिएको हो।
२०८३ असोज ५ गतेदेखि ७ गतेसम्म होटल कोल्टी दरबारमा सञ्चालन हुने तालिमको उद्घाटन बुढीनन्दा नगरपालिकाका कार्यबाहक नगरप्रमुख नन्दबहादुर रोकायाले गर्नुभएको हो।
कार्यक्रमको अध्यक्षता महिला उद्यमी महासंघ नेपालका परियोजना संयोजक भूपेन्द्र लाम्सालले गर्नुभएको छ। उद्घाटन कार्यक्रममा बुढीनन्दा नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख गंगा गिरी, पालिकास्थित गैरसरकारी संस्थाका फोकल पर्सन वीरजङ शाही तथा जिल्ला उद्यमी संघ बाजुराका कार्यसमिति सदस्य जपना सिंह लगायतको उपस्थिति रहेको थियो।
तालिमको सहजीकरण कन्सल्टेन्ट अशोक भुजेल, परियोजना संयोजक भूपेन्द्र लम्साल, उद्यम विकास अधिकृत महेशराज जैशी र मानवस्रोत तथा प्रशासन सहायक सविना अधिकारीले गरिरहनुभएको छ।
तालिममा सहभागीहरूलाई उद्यम सञ्चालनका आधारभूत पक्ष, व्यवसाय विकास, बजार तथा व्यावसायिक अवसरको पहिचान, व्यावसायिक योजना निर्माण, लगानी, जोखिम व्यवस्थापन र व्यवसायको दिगोपनालगायतका विषयमा व्यावहारिक ज्ञान तथा सीप प्रदान गरिने आयोजकले जनाएको छ।
विशेषगरी सहभागीहरूमा उद्यमशील सोच र मानसिकताको विकास गर्ने, व्यवसाय सञ्चालनप्रति इच्छाशक्ति तथा सकारात्मक सोच अभिवृद्धि गर्ने र जागिर खोज्नेभन्दा आफैं रोजगारी सिर्जना गर्न सक्ने क्षमता विकास गर्ने तालिमको प्रमुख उद्देश्य रहेको जनाइएको छ।
त्यस्तै, नयाँ व्यवसाय सुरु गर्न आवश्यक प्रारम्भिक खाका तथा व्यावसायिक योजना (Business Plan) तयार गर्न सिकाउने तालिमको अर्को महत्वपूर्ण उद्देश्य रहेको छ।
व्यवसाय सुरु गर्नुअघि बजार, लगानी, उत्पादन, व्यवस्थापन तथा सम्भावित जोखिमको अध्ययन गरी योजनाबद्ध रूपमा अघि बढ्न सक्ने क्षमता सहभागीमा विकास गरिने बताइएको छ।
व्यवसाय सञ्चालनका क्रममा आउन सक्ने चुनौती तथा जोखिम पहिचान गरी त्यसको न्यूनीकरण तथा समाधान गर्न सक्ने क्षमता विकासमा समेत तालिमले जोड दिएको छ।
व्यवसायलाई दीर्घकालसम्म सफल र दिगो बनाउन आवश्यक रणनीति तथा मार्गचित्रबारे सहभागीलाई जानकारी दिइनेछ।
महिला तथा युवाको उद्यमशील क्षमता अभिवृद्धि गर्दै स्थानीय स्रोत-साधनको उपयोग मार्फत स्वरोजगार तथा रोजगारीका अवसर सिर्जना गर्न तालिमले सहयोग पुर्याउने आयोजकको अपेक्षा छ। तालिममा उद्यमी बन्न इच्छुक २९ जना महिला तथा युवाको सहभागिता रहेको छ।





प्रतिक्रिया