गाैमुल खबर डटकम आइतबार ०४, असोज २०८३ ०१:०३

स्याउ फल्छ बारीमा, बजार पुग्दैन : सडक अभावले बाजुराका किसान निराश

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, असोज ०३, २०८३
स्याउ फल्छ बारीमा, बजार पुग्दैन : सडक अभावले बाजुराका किसान निराश

बाजुरा ःउत्पादन बढ्दै गए पनि बजार, सडक, ढुवानी र भण्डारणको उचित व्यवस्था नहुँदा बाजुराका स्याउ किसान निराश बन्न थालेका छन्। बारीमा स्याउ पाकेर बिक्रीका लागि तयार भए पनि सडक तथा ढुवानीको समस्या हुँदा बजारसम्म पुर्‍याउन कठिन भएको किसानहरूको गुनासो छ।

स्याउ बोटमै पाकिसकेको अवस्थामा समयमै बजारसम्म पुर्‍याउन नसक्दा कुहिने, झर्ने तथा उत्पादनको उचित मूल्य नपाउने जोखिम बढेको किसानहरू बताउँछन्। उत्पादन बढ्दै गए पनि बजार व्यवस्थापन कमजोर हुँदा मेहनतअनुसारको आम्दानी लिन नसकेको उनीहरूको भनाइ छ।

बाजुरामा करिब ३ सय ७० हेक्टर क्षेत्रफलमा स्याउ खेती हुँदै आएको छ। जिल्लामा वार्षिक करिब १ हजार १ सय ३७ मेट्रिकटन स्याउ उत्पादन हुने गरेको तथ्यांक छ। पछिल्ला पाँच वर्षयता बाजुराको स्याउ आफ्नै ब्रान्डसहित बजारमा जान थाले पनि किसानले उत्पादनअनुसारको उचित मूल्य पाउन भने अझै संघर्ष गर्नुपरेको छ।

यस वर्ष व्यापारीहरू किसानका बारीमै पुगेर स्याउ खरिद गर्न थालेका छन्। तर लगातारको वर्षाका कारण मार्तडी–कोल्टी सडकखण्डका विभिन्न स्थानमा क्षति पुगेपछि बगैँचाबाट सडकसम्म स्याउ ढुवानी गर्नसमेत समस्या भएको छ। सडकको दुरवस्थाले ढुवानी खर्च बढाउनुका साथै उत्पादन बजारसम्म पुर्‍याउन थप कठिनाइ भएको किसानहरूको भनाइ छ।

विगतमा सुदूरपश्चिम प्रदेश सरकारले बगैँचाबाट मुख्य सडकसम्म स्याउ पुर्‍याउन उपलब्ध गराउँदै आएको ढुवानी सहयोगसमेत यस वर्ष बजेट अभावका कारण निरन्तर हुन नसकेको किसानहरू बताउँछन्। ढुवानीमा सरकारी सहयोग नहुँदा दुर्गम क्षेत्रका किसानलाई उत्पादन बजारसम्म पुर्‍याउन झनै समस्या भएको छ।

बुढीनन्दा नगरपालिका–९ का उज्जल रावतले स्याउ खेतीबाट वार्षिक १२ देखि १५ लाख रुपैयाँसम्म आम्दानी भइरहेको बताए। तर उत्पादन बजारसम्म पुर्‍याउन नसकिए भविष्यमा किसानको स्याउ खेतीप्रतिको आकर्षण घट्न सक्ने उनको भनाइ छ।

“स्याउ उत्पादन गर्न किसानले मेहनत गरिरहेका छन्। उत्पादन पनि बढ्दै गएको छ। तर बजारसम्म पुर्‍याउने सडक र ढुवानीको व्यवस्था नहुँदा समस्या भएको छ,” रावतले भने।

किसानका अनुसार अहिले स्याउ खेतीमा उत्पादन प्रविधिभन्दा पनि बजार, सडक, ढुवानी र भण्डारण व्यवस्थापन मुख्य चुनौती बनेको छ। स्वामीकार्तिक खापर गाउँपालिका–३ का ओमजंग शाहीले ढुवानी खर्च अत्यधिक हुँदा गत वर्ष बोटबाटै प्रतिकिलो १५ देखि २० रुपैयाँमा स्याउ बिक्री गर्नुपरेको बताए।

उत्पादन लागत बढ्दै जाने तर बजारमा उचित मूल्य नपाउने अवस्थाले किसानलाई निरुत्साहित बनाउने उनको भनाइ छ। दुर्गम क्षेत्रका किसानले उत्पादन गरेको स्याउ मुख्य बजारसम्म पुर्‍याउन सडकको अवस्था सुधार गर्नुका साथै ढुवानीमा सरकारी सहयोग आवश्यक रहेको किसानहरूको माग छ।

किसानहरूले सरकारी अनुदान वितरणमा समेत कागजी झन्झट र पहुँचको समस्या रहेको गुनासो गरेका छन्। वास्तविक किसानसम्म अनुदान पुग्न नसक्दा स्याउ खेतीको व्यावसायिक विस्तारमा समस्या भइरहेको उनीहरूको भनाइ छ।

त्यसैगरी, पछिल्ला वर्षमा तापक्रम बढ्दै जाँदा पुराना स्याउका बगैँचामा उत्पादन घट्न थालेको किसानहरूले बताएका छन्। जलवायु परिवर्तनको प्रभावसँगै रोग–कीरा तथा उत्पादन प्रणालीमा देखिएका चुनौतीले पनि स्याउ खेतीमा थप असर पारिरहेको उनीहरूको भनाइ छ।

किसानहरूले अब नयाँ बगैँचा विस्तारसँगै सडक पूर्वाधार, बगैँचासम्मको पहुँचमार्ग, ढुवानी अनुदान, चिस्यान भण्डारण केन्द्र र व्यवस्थित बजारलाई प्राथमिकतामा राख्न सरकारसँग माग गरेका छन्।

किसानहरूको भनाइमा स्याउ उत्पादन बढाएर मात्र उनीहरूको आम्दानी बढ्दैन। उत्पादित स्याउलाई समयमै बजारसम्म पुर्‍याउने व्यवस्था, उचित मूल्यको सुनिश्चितता र भण्डारणको सुविधा भए मात्रै स्याउ खेती दीर्घकालीन रूपमा व्यावसायिक र आकर्षक बन्न सक्छ।

बाजुराका किसानले अब सरकारसँग नयाँ बगैँचा विस्तारको मात्रै होइन, ‘उत्पादनदेखि बजारसम्म’को सम्पूर्ण मूल्य शृंखला व्यवस्थित गर्ने नीति र कार्यक्रमको अपेक्षा गरेका छन्।

प्रतिक्रिया