बाजुरा ः गौमुल गाउँपालिका-४ का वडा अध्यक्ष तथा कीर्तिचौर माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमर विकले खेलकुद अनुशासन, स्वास्थ्य, आपसी सद्भाव, सहकार्य र सामाजिक एकताको महत्वपूर्ण आधार भएको बताउनुभएको छ।
“अनुशासित युवा, स्वस्थ समाज; खेलकुद नै विकासको आधार” भन्ने मूल नाराका साथ ११ औँ संविधान दिवस-२०८३ को अवसरमा कीर्तिचौर माध्यमिक विद्यालयका शिक्षकहरूको आयोजनामा सञ्चालित अन्तरविद्यालयस्तरीय शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिताको अवसरमा अध्यक्ष विकले यस्तो धारणा व्यक्त गर्नुभएको हो।
प्रतियोगितामा कीर्तिचौर माध्यमिक विद्यालय, मानाकोट माध्यमिक विद्यालय, बालविकास माध्यमिक विद्यालय, जनज्योति माध्यमिक विद्यालय, गौमुल गाउँपालिका कर्मचारी टोली तथा गाउँपालिकाका शिक्षक-कर्मचारी सहित ८ वटा टोलीको उत्साहपूर्ण सहभागिता रहेको छ।
अध्यक्ष विकले खेलकुदलाई मनोरञ्जनका रूपमा मात्र लिन नहुने उल्लेख गर्दै यसले व्यक्ति तथा समुदायमा अनुशासन, स्वास्थ्य, सहकार्य र सकारात्मक सोचको विकास गर्ने बताउनुभयो।
उहाँले यस्ता मैत्रीपूर्ण प्रतियोगिताले शिक्षक, कर्मचारी र समुदायबीचको आत्मीयता बढाउनुका साथै सामाजिक एकता र स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
प्रतियोगिता आयोजना गरी खेलकुद मार्फत आपसी भाइचारा, सद्भाव र सहकार्यको वातावरण निर्माण गरेको भन्दै अध्यक्ष विकले आयोजक शिक्षकहरूको सम्पूर्ण टोलीप्रति धन्यवाद तथा उच्च सम्मान व्यक्त गर्नुभयो।
त्यस्तै, प्रतियोगितामा उत्साहपूर्वक सहभागी भई खेलभावना, अनुशासन र सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गर्ने सम्पूर्ण शिक्षक तथा कर्मचारीप्रति पनि उहाँले आभार व्यक्त गर्नुभयो।
अध्यक्ष विकले “खेलौँ, स्वस्थ बनौँ; जुटौँ, समाज बदलौँ” भन्ने सन्देश सहित खेलकुदलाई सामाजिक रूपान्तरण र स्वस्थ समाज निर्माणको आधारका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ।





प्रतिक्रिया