गाैमुल खबर डटकम शनिबार ०३, असोज २०८३ ०२:३५

बाजुरा कांग्रेसको अधिवेशनमा ‘दुई धार’ : ६९ वडामा असोज ४ गते निर्वाचन, देउवा पक्ष सहभागी नहुने

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, असोज ०२, २०८३
बाजुरा कांग्रेसको अधिवेशनमा ‘दुई धार’ : ६९ वडामा असोज ४ गते निर्वाचन, देउवा पक्ष सहभागी नहुने

बाजुरा ः नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत बाजुराका ६९ वटै वडामा असोज ४ गते वडा अधिवेशन गर्ने तयारी गरिएको छ। पार्टीको केन्द्रीय कार्यतालिकाअनुसार असोज ३ र ४ गते वडा अधिवेशनका लागि समय तोकिए पनि भौगोलिक विकटता र निर्वाचन सामग्री ढिलो पुगेका कारण बाजुरामा असोज ४ गते अधिवेशन गर्ने तयारी गरिएको नेपाली कांग्रेस बाजुराले जनाएको छ।

नेपाली कांग्रेस बाजुराका सभापति रामसिंह रावलका अनुसार जिल्लाका सबै पालिकामा निर्वाचन सामग्री पठाउने काम भइरहेको छ। नजिकका पालिकामा सामग्री समयमै पुग्ने भए पनि माथिल्लो क्षेत्रका चार पालिकामा सामग्री पुग्न केही ढिलाइ हुने भएकाले असोज ४ गते नै सबै वडामा अधिवेशन गर्ने गरी तयारी अघि बढाइएको हो।

केन्द्रीय सर्कुलर अनुसार ६९ वटै वडाका क्रियाशील सदस्यबाट वडा कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइने सभापति रावलले बताएका छन्। भौगोलिक विकटताका कारण असोज ३ गते अधिवेशन गर्न सम्भव नभएकाले ४ गतेका लागि आवश्यक तयारी पूरा गर्न वडा कार्यसमिति र पालिकालाई निर्देशन दिइएको उनको भनाइ छ।

यता, कांग्रेसभित्र देखिएको आन्तरिक विवादको प्रभाव बाजुराको वडा अधिवेशनमा समेत परेको छ। शेरबहादुर देउवा पक्षले गगन थापा नेतृत्वको पक्षबाट तय गरिएको असोज ३ र ४ गतेको अधिवेशनमा सहभागी नहुने जनाएको छ। देउवा पक्षले असोज १५ गतेदेखि आफ्नै कार्यतालिका अनुसार वडा अधिवेशन गर्ने तयारी गरेको छ। राष्ट्रिय स्तरमै दुवै पक्षले फरक-फरक कार्यतालिका अघि बढाएका छन्।

देउवा पक्षले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरी छुट्टै प्रक्रिया मार्फत १५ औँ महाधिवेशन गर्ने तयारी गरेको छ। सोही अनुसार बाजुरामा पनि इतर पक्षले असोज ४ गते हुने अधिवेशनमा सहभागी नहुने अडान लिएको बताइएको छ।

यससँगै बाजुरा कांग्रेसमा पनि दुई पक्षबीचको विभाजन स्पष्ट देखिएको छ। गगन थापा नेतृत्वको पक्षका नेता तथा कार्यकर्ता अधिवेशनको तयारीका लागि जिल्लामा सक्रिय भइरहेका छन् भने देउवा पक्षका नेता तथा कार्यकर्ताको सहभागिता भने देखिएको छैन् ।

कांग्रेसका पूर्व सहमहामन्त्री समेत रहेका बद्रीप्रसाद पाण्डे भने दुवै पक्षबीच सहमति र एकता कायम गराउने प्रयासमा रहेकाले कुनै पक्षमा खुलेर नलाग्ने अडानमा छन्। सोही कारण उनी पनि बाजुरामा हुने अधिवेशन प्रक्रियामा सहभागी नभएको बताइएको छ।

कांग्रेसको केन्द्रीय तहमा समेत असोज ३-४ गतेको अधिवेशनलाई लिएर दुई पक्षबीच फरक धारणा सार्वजनिक भएका छन्। सभापति गगन थापाले असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सहभागी हुन आह्वान गरेका छन् भने पूर्वसभापति शेरबहादुर देउवाले उक्त प्रक्रियामा सहभागी नहुन आग्रह गर्दै असोज १५ गतेबाट आफ्नो पक्षको अधिवेशन प्रक्रिया अघि बढाउने बताएका छन्।

यसले बाजुरामा पनि वडा तहदेखि नै कांग्रेसको आन्तरिक विभाजनको प्रभाव देखिने अवस्था बनेको छ। अब असोज ४ गते हुने वडा अधिवेशनमा कुन-कुन पक्षका क्रियाशील सदस्य सहभागी हुन्छन् र त्यसपछि जिल्लाको अधिवेशन प्रक्रिया कसरी अघि बढ्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।

प्रतिक्रिया