बाजुरा ः गौमुल गाउँपालिकामा संकटमा परेका व्यक्ति तथा सेवाग्राहीलाई आवश्यक सेवा सहज र प्रभावकारी रुपमा उपलब्ध गराउने उद्देश्यले सिफारिस प्रणाली सुदृढीकरण तथा स्थानीय तह र एकद्वार संकट व्यवस्थापन केन्द्रबीच समन्वयात्मक बैठक सम्पन्न भएको छ।
प्लान इन्टरनेशनल नेपालको सहकार्यमा पीसविन नेपालद्वारा सञ्चालित आभा परियोजनाको आयोजनामा भएको कार्यक्रममा स्थानीय तहबाट गरिने सिफारिस प्रणालीलाई थप व्यवस्थित, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउने विषयमा छलफल गरिएको हो।
कार्यक्रममा विशेषगरी संकटमा परेका महिला तथा बालबालिका लगायत आवश्यकतामा रहेका व्यक्तिलाई सम्बन्धित निकायसम्म समयमै पहुँच पुर्याउन स्थानीय तह, स्वास्थ्य संस्था तथा एकद्वार संकट व्यवस्थापन केन्द्रबीच प्रभावकारी समन्वय र सिफारिस प्रणाली आवश्यक रहेको विषयमा जोड दिइएको थियो।
कार्यक्रमको सहजीकरण जिल्ला अस्पताल बाजुराका एकद्वार संकट व्यवस्थापन केन्द्रकी निशा रोकायाले गर्नुभएको थियो। उहाँले एकद्वार संकट व्यवस्थापन केन्द्रबाट उपलब्ध हुने सेवा, सेवाग्राहीलाई सिफारिस गर्ने प्रक्रिया तथा विभिन्न निकायबीचको समन्वयका विषयमा जानकारी गराउनुभएको थियो।
बैठकमा गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापा, वडा अध्यक्षहरु देवबहादुर रोकाया, अमर विक, कलक सिंह, गोरख बोहरा र कार्यपालिका सदस्य राजिन्द्रा राेकाया, इलाका प्रहरी कार्यालय गौमुलका प्रहरी सहायक निरीक्षक प्रेम साहु, रेडियो गौमुलका स्टेशन प्रबन्धक रमित विक लगायत गाउँपालिकाका विभिन्न विषयगत शाखाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।





प्रतिक्रिया