बाजुरा ः गौमुल गाउँपालिका-६ सालिकोटमा रहेकाे नवज्योती आधारभूत विद्यालयले आफ्नो ३७ औँ वार्षिक उत्सव तथा विविध शैक्षिक एवं सांस्कृतिक कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न सहयोगका लागि देश तथा विदेशमा रहेका शिक्षाप्रेमी, समाजसेवी, अभिभावक तथा सम्पूर्ण शुभेच्छुक महानुभावहरु समक्ष हार्दिक अपिल गरेको छ।
विद्यालयले अध्ययनरत बालबालिकालाई गुणस्तरीय, सिर्जनशील तथा प्रविधिमैत्री शिक्षा प्रदान गर्न आवश्यक संगीत सामग्री, विद्युतीय सामग्री तथा कक्षाकोठा व्यवस्थापनका लागि स्वेच्छिक आर्थिक सहयोग संकलन गर्न लागेको जनाएको छ।
विद्यालयका प्रधानाध्यापक चित्रबहादुर रोकायाका अनुसार, विद्यालयको शैक्षिक, भौतिक तथा अतिरिक्त क्रियाकलापको विकासमा अभिभावक, शुभेच्छुक तथा सहयोगी मनहरुको योगदान महत्वपूर्ण रहँदै आएको छ। विद्यालयको आवश्यकता अनुसार इच्छुक महानुभावहरुले आफ्नो क्षमता र इच्छा अनुसार सहयोग गरिदिन विद्यालय परिवारले अनुरोध गरेको छ।
विद्यालयले सहयोग रकमलाई वार्षिक उत्सव सम्पन्न गर्नमा मात्र नभई विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन, सिर्जनात्मक क्षमता विकास तथा विद्यालयको शैक्षिक वातावरण थप प्रविधिमैत्री बनाउन उपयोग गर्ने जनाएको छ।
विद्यालय परिवारले आर्थिक रुपमा ठूलो वा सानो भन्दा पनि शिक्षा र बालबालिकाको भविष्यप्रतिको सद्भावका रुपमा गरिएको सहयोगलाई महत्वपूर्ण हुने जनाएको छ। देश तथा विदेशमा रहेका पूर्वविद्यार्थी, अभिभावक, शिक्षाप्रेमी, समाजसेवी तथा शुभेच्छुकहरुलाई विद्यालयको अभियानमा जोडिन समेत आग्रह गरिएको छ।





प्रतिक्रिया