गाैमुल खबर डटकम शनिबार ०३, असोज २०८३ ०२:३९

दसैं अघि गौमुलका ग्रामीण सडक खुलाइने, बाढी-पहिरो पीडितको तथ्याङ्क संकलन गरिने

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, असोज ०२, २०८३
दसैं अघि गौमुलका ग्रामीण सडक खुलाइने, बाढी-पहिरो पीडितको तथ्याङ्क संकलन गरिने

बाजुरा ः गौमुल गाउँपालिकाले वर्षाका कारण बन्द भएका ग्रामीण सडकहरु दसैं अघि नै सञ्चालनमा ल्याउने निर्णय गरेको छ। लगातारको वर्षासँगै बाढी तथा पहिरोका कारण अवरुद्ध सडक खुलाउनुका साथै प्रभावित नागरिकको अवस्था पहिचान गरी आवश्यक व्यवस्थापन गर्ने निर्णय गाउँपालिकाले गरेको हो।

शुक्रबार बसेको गाउँ कार्यपालिकाको ५५ औँ बैठकले वर्षाजन्य विपद्बाट प्रभावित परिवारको एकिन तथ्याङ्क संकलन गर्ने, उनीहरुको आवश्यकता पहिचान गरी व्यवस्थापन गर्ने निर्णय गरेको छ।

बैठकले स्वास्थ्य सेवाको व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तथा बाढी-पहिरोका कारण बालीनालीमा भएको क्षतिको समेत एकिन विवरण संकलन गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर २ का अध्यक्ष देवबहादुर रोकायाले जानकारी दिएका छन् । 

वर्षाका कारण ग्रामीण सडक अवरुद्ध हुँदा नागरिकको आवतजावत, दैनिक उपभोग्य वस्तुको ढुवानी तथा स्वास्थ्य सेवामा समेत समस्या उत्पन्न भएकाले दसैं अघि नै सडक सञ्चालनमा ल्याउने गरी आवश्यक पहल र व्यवस्थापन गर्ने निर्णय गरिएको हो।

गाउँपालिकाले बाढी, पहिरो तथा वर्षाबाट प्रभावित नागरिकको वास्तविक अवस्था पहिचान गरी राहत, पुनःस्थापना तथा आवश्यक सहयोगका लागि तथ्याङ्कलाई आधार बनाउने जनाएको छ।

साथै, किसानले व्यहोरेको बालीनाली क्षतिको विवरण संकलन गरी आवश्यक व्यवस्थापन तथा समन्वय गर्ने तयारी गरिएको छ।

बैठकका निर्णयले सडक, स्वास्थ्य, विपद् प्रभावित नागरिक र कृषि क्षतिलाई प्राथमिकतामा राख्दै वर्षाजन्य विपद्बाट प्रभावित गौमुलबासीलाई तत्काल राहत तथा व्यवस्थापनमा जोड दिएको देखिएको छ।

प्रतिक्रिया