बाजुरा ः२०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा हत्या गरिएका अनेरास्ववियुका नेता चेतनदीप अयडीको हत्या प्रकरणमा बाजुरा जिल्ला अदालतले फैसला सुनाएको छ।
अदालतले हत्या प्रकरणमा संलग्न रहेको ठहर गर्दै ६ जनालाई जन्मकैद अर्थात् २५ वर्ष कैद सजाय सुनाएको हो। जन्मकैदको सजाय पाउनेमा शेरबहादुर अयडी, सागर अयडी, लोकेश अयडी, खेमराज अयडी, जीवन अयडी र धनराज थापा रहेका छन्।
यस्तै, मुद्दामा प्रतिवादी बनाइएका २४ जनामध्ये बाँकी १८ जनालाई अदालतले सफाइ दिएको जनाइएको छ। दोषी ठहर भएका ६ जनाबाट जनही १ लाख रुपैयाँ क्षतिपूर्ति समेत भराउने फैसला भएको बताइएको छ।
चेतनदीप अयडीको हत्या २०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा बाजुराको कैलाशमाडौँ क्षेत्रमा भएको थियो। निर्वाचनको क्रममा अयडीको घर घेरा हालेर कुटपिट गरिएको र सोही क्रममा उनको मृत्यु भएको अभियोगमा २४ जना विरुद्ध मुद्दा दायर भएको थियो।
घटना भएको करिब चार वर्षपछि मुद्दाको सुनुवाइ र बहस टुंगिएको हो। बाजुरा जिल्ला अदालतमा न्यायाधीश ताराप्रसाद डाँगीको इजलासमा मुद्दाको सुनुवाइ भएको थियो। जाहेरवाला चेतनका बुवा गगन अयडीका तर्फबाट सरकारी वकिल सहित वरिष्ठ अधिवक्ताहरुले बहस गरेका थिए भने प्रतिवादीका तर्फबाट पनि कानुन व्यवसायीहरुले बहस गरेका थिए।
यस अघि मुद्दामा २४ जना प्रतिवादी मध्ये ७ जना पुर्पक्षका लागि थुनामा रहेका, ११ जना धरौटीमा र ६ जना साधारण तारिखमा रहेको अदालत सम्बन्धी विवरण सार्वजनिक भएको थियो।
चेतन अयडीको हत्या निर्वाचनकै क्रममा भएको र लामो समयसम्म मुद्दा अदालतमा विचाराधीन रहेकाले यो प्रकरण बाजुराको राजनीतिक तथा सामाजिक वृत्तमा समेत चासोको विषय बन्दै आएको थियो। अदालतको फैसलासँगै करिब चार वर्षदेखि विचाराधीन चेतन अयडी हत्या प्रकरणले कानुनी निष्कर्ष पाएको छ।





प्रतिक्रिया