काठमाडौं : भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल पक्षको तृतीया तिथिका दिन तीजको व्रत बस्ने परम्परा छ । यस दिन विवाहित महिलाले पतिको दीर्घायु र अविवाहित महिला सुयोग्य वरको कामना गर्दै व्रत बस्ने गर्छन्।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा,उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ।
वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन्। पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए। साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन्।
यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्म शास्त्रमा उल्लेख छ। संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई वटा शब्द मिलेर हरितालिका शब्द बनेको छ।
जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ। सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ।
हरितालिका तीजको व्रत निराहार (केही पनि नखाई), जलाहार (जल पिएर) वा फलाहार (फलमूलादि खाएर) बस्न सकिन्छ। शास्त्रमा ‘सर्वतः आत्मानं गोपायेत्’ अर्थात् जसरी भए पनि आफ्नो शरीर र स्वास्थ्यको रक्षा गर्नुपर्छ भनिएको छ।
स्कन्द पुराणमा उल्लेख भएअनुसार औषधि सेवन गर्दा व्रत भङ्ग हुँदैन। एकादशी र तीजको व्रतमा अन्न भोजन गर्नु हुँदैन तर फल, मूल, दूध र जल भने ग्रहण गर्न मिल्छ। यता आज पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि चार वटा दर्शन मार्गको व्यवस्था गरिएको छ।
मन्दिर परिसर प्रवेश गरिसकेपछि आठ वटा लाइनमा विभाजन हुने पनि पशुपति क्षेत्र विकास कोषले जनाएको छ । एकपटकमा आठ जना भक्तजनले दर्शन गर्नसक्ने गरी मूल मन्दिर परिसरमा व्यवस्था मिलाइएको छ ।





प्रतिक्रिया