गाैमुल खबर डटकम आइतबार २८, भदौ २०८३ ०१:०१

गौमुल-३ भिट्टालीमा बाँदरको आतंक : किसानले लगाएको मकै सखाप

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, भदौ २७, २०८३
गौमुल-३ भिट्टालीमा बाँदरको आतंक : किसानले लगाएको मकै सखाप

बाजुरा ः गौमुल गाउँपालिका-३ भिट्टालीमा बाँदरले मकैबालीमा व्यापक क्षति पुर्‍याएको छ। खेतबारीमा पाक्न लागेको मकै बाँदरले खाएर तथा भाँचेर नष्ट गर्न थालेपछि स्थानीय कृषकहरु चिन्तित बनेका छन्।

स्थानीय कृषकहरु जनक विक, धनबहादुर विक, नर रोकाया र शकर रोकायाले लगाएको मकैबाली बाँदरले सखाप पारेको स्थानीयले बताएका छन्। किसानले वर्षभरि खाने अन्नका रुपमा लगाएको मकै बाँदरको झुन्डले खेतमै पुगेर नष्ट गर्न थालेपछि मेहनत खेर जाने अवस्था आएको छ।

मकै पाक्ने समयमा बाँदरको समूह खेतबारीमा प्रवेश गर्ने र मकैका घोगा खाने, भाँच्ने तथा बोटखसमेत नष्ट गर्ने गरेको स्थानीय किसान जनक विककाे भनाइ रहेकाे छ । बाँदरको निरन्तरको आतंकका कारण मकैबाली जोगाउन किसानलाई खेतबारीमै निगरानी गर्नुपर्ने बाध्यता थपिएको छ।

स्थानीय किसानका अनुसार बाँदरबाट हुने क्षति हरेक वर्ष बढ्दै गएको छ। खेतबारीमा लगाएको अन्नबाली नै नष्ट हुन थालेपछि खाद्यान्न अभाव हुने चिन्ता समेत बढेको छ।

किसानहरुले बाँदर नियन्त्रणका लागि सम्बन्धित निकायले तत्काल प्रभावकारी पहल गर्नुपर्ने माग गरेका छन्। कृषि उपजमा भइरहेको क्षतिको मूल्यांकन गरी किसानलाई राहत तथा बाँदर नियन्त्रणका लागि दीर्घकालीन योजना बनाउनुपर्ने स्थानीयको माग छ।

प्रतिक्रिया