बाजुरा : केही गीत कानले मात्रै सुनिन्छन्, केही गीत भने सुन्दै गर्दा पुराना सम्झनाका ढोका खोलिदिन्छन्। राजेन्द्र पश्चिमेलीको नयाँ डेउडा गीत ‘काँ छम्काउँछै चुँडी’ यस्तै सम्झना र भावनालाई छुने सांगीतिक कोशेली बनेर आएको छ।
मिठासपूर्ण स्वर, मन छुने शब्द, सुन्दर दृश्य र भावपूर्ण अभिनयले गीतको भिडियो हेर्नेलाई सुरुदेखि अन्त्यसम्म बाँधेर राख्छ। डेउडाको मौलिक स्वादमा तयार पारिएको गीतले विशेषगरी विद्यार्थी जीवनमा पलाएको प्रेम, पढाइसँगै हुर्किएको सम्बन्ध र विद्यार्थी जीवनपछि आएको विछोडको कथालाई भावनात्मक रूपमा प्रस्तुत गरेको छ।
गीत सुन्दा आफ्नै विद्यार्थी जीवन, पुराना साथी र छुटेका सम्बन्ध सम्झाउने भाव छ। भिडियोमा प्रेमको सुरुवाती मिठाससँगै समयले ल्याउने दूरी र विछोडलाई सरल तर प्रभावकारी ढंगले देखाइएको छ।
गीतको अर्को सुन्दर पक्ष यसको स्थानीयपन हो। बाजुराको सुन्दर आटीचौरमा छायांकन गरिएको भिडियोमा स्थानीय प्राकृतिक सौन्दर्यसँगै राजेन्द्र पश्चिमेलीले आफूले अध्ययन गरेको दशरथ माध्यमिक विद्यालयलाई समेत समेटेका छन्। आफूले पढेको विद्यालय, बिताएको विद्यार्थी जीवन र त्यही जीवनसँग जोडिएको प्रेमकथालाई गीत मार्फत पर्दामा उतार्दा भिडियो अझ आत्मीय र जीवन्त बनेको छ।
राजेन्द्र पश्चिमेलीको स्वरमा रहेको गीतमा गौरी भट्टले साथ दिएकी छन्। गीतका शब्द तथा संगीत राजेन्द्र शाह ‘बीपी’को हो भने विनोद बाजुरालीले संगीत संयोजन गरेका छन्। मिक्सिङ खडक बाजुराली र रेकर्डिङ सागर बाजुरालीले गरेका छन्।
भीम थापाको निर्देशनमा बनेको भिडियोमा भुपी उपाध्याय र सिर्जना परीको अभिनय छ। अमृत उपाध्यायले छायांकन तथा ड्रोन गरेका छन् भने प्रविन रेश्मी मगरले सम्पादन गरेका छन्। भिडियोको पोस्ट प्रोडक्सन खप्तड फिल्म्सले गरेको हो। गीतको रेकर्डिङ मालश्री स्टुडियोमा गरिएको हो।
शिक्षण पेशामा आवद्ध राजेन्द्र पश्चिमेली पढाउने कर्मसँगै गीत-संगीतप्रतिको आफ्नो रुचिलाई पनि निरन्तर अघि बढाइरहेका छन्। ‘काँ छम्काउँछै चुँडी’ उनको सांगीतिक यात्राको दोस्रो कोशेली हो।
बाजुराको भूगोल, विद्यार्थी जीवनका सम्झना, प्रेमको मिठास र विछोडको पीडालाई डेउडाको लयमा मिसाएर प्रस्तुत गरिएको यो गीतमा मनोरञ्जन मात्रै छैन, आफ्नै जीवनका कुनै पुराना पल भेटिने अनुभूति पनि छ।
हेरिरहुँ लाग्ने दृश्य, सुनिरहुँ लाग्ने शब्द र स्वर अनि मन छुने अभिनय ‘काँ छम्काउँछै चुँडी’ राजेन्द्र पश्चिमेलीको रहर लाग्दो दोस्रो सांगीतिक कोशेली बनेको छ।





प्रतिक्रिया