बाजुरा ःभारी वर्षाका कारण गत भदौ २० गतेदेखि विभिन्न स्थानमा पहिरो गएर अवरुद्ध बनेको गौमुल गाउँपालिकाको केन्द्र घट्मुनादेखि जिल्ला सदरमुकाम मार्तडी जोड्ने सडक सञ्चालनमा ल्याउन काम सुरु गरिएको छ।
सडकखण्डका विभिन्न ठाउँमा गएको पहिरो पन्छाउँदै सडक तत्काल सञ्चालन गर्ने उद्देश्यले युद्धस्तरमा काम अघि बढाइएको गौमुल गाउँपालिका-४ का वडा अध्यक्ष अमर विकले बताएका छन्।
उनका अनुसार गाउँपालिकाको जेसीबी प्रयोग गरी सडकमा थुप्रिएको पहिरो तथा ढुंगा-माटो हटाउने काम सुरु भइसकेको छ। लामो समयदेखि सडक अवरुद्ध हुँदा स्थानीयबासीलाई आवतजावत, दैनिक उपभोग्य सामग्री तथा अत्यावश्यक सेवामा समेत समस्या भइरहेकाले सडक खुलाउन प्राथमिकताका साथ काम भइरहेको उनले बताए।
सडक मर्मत तथा पहिरो पन्छाउने कामलाई दुई खण्डमा विभाजन गरिएको छ। पूर्वाधार विकास कार्यालय, साँफेबगरले भौनेरासम्मको सडक मर्मत गर्ने र भौनेरादेखि घट्मुनासम्मको सडक गाउँपालिकाले मर्मत गरिने भएको गौमुल गाउँपालिकाकी उपाध्यक्ष सीता थापाले बताएकी छन्।
निरन्तरको वर्षाका कारण ठाउँ-ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएपछि गौमुलका स्थानीयबासी लामो समयदेखि सास्ती खेप्दै आएका छन्। सडक सञ्चालनमा आएपछि गाउँपालिकाको केन्द्र तथा विभिन्न बस्तीबाट सदरमुकामसम्मको आवतजावत सहज हुने अपेक्षा गरिएको छ।
वर्षा र पहिरोको जोखिम कायमै रहेकाले सडक मर्मतका क्रममा थप पहिरो आउन सक्ने सम्भावनालाई समेत ध्यानमा राखेर काम अघि बढाइएको जनाइएको छ।





प्रतिक्रिया