गाैमुल खबर डटकम बिहीबार २५, भदौ २०८३ ०१:२३

नयाँ नेतृत्वसँगै गौमुल-४ मा जाग्दै महिला एकता, सयपत्री अभियानले देखायो परिवर्तनको बाटो

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, भदौ २५, २०८३
नयाँ नेतृत्वसँगै गौमुल-४ मा जाग्दै महिला एकता, सयपत्री अभियानले देखायो परिवर्तनको बाटो

बाजुरा ःगौमुल गाउँपालिका-४ मा नयाँ वडा नेतृत्व आएसँगै महिला एकता, सामाजिक जागरण र सकारात्मक परिवर्तनका गतिविधिले गति लिन थालेका छन्। वडाका विभिन्न टोलमा महिलाहरुको सक्रियता बढ्दै गएपछि समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउने अभियान समेत थप प्रभावकारी बन्दै गएको छ।

भदौ २३ गते वडा स्तरीय सयपत्री मूल समितिको दोस्रो साधारण सभा सम्पन्न भएको छ। गौमुल विकास समाज तथा एचआरसी बाजुराको सहजीकरणमा गठित सयपत्री मूल समितिको आयोजनामा भएको सभामा वडाका सबै टोलका दिदीबहिनीहरुको उल्लेख्य सहभागिता रहेको थियो।

सभामा महिलाहरुले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विभिन्न सिर्जनात्मक तथा सन्देशमूलक क्रियाकलाप प्रस्तुत गरेका थिए। महिला एकता, आपसी सहयोग, सामाजिक सद्भाव, नेतृत्व विकास तथा समुदायमा सकारात्मक सोचको विकास गर्ने विषयलाई प्राथमिकतामा राख्दै कार्यक्रम सञ्चालन गरिएको थियो।

पछिल्लो समय वडा सरकारमा नयाँ नेतृत्व आएपछि महिलाहरुलाई सामाजिक गतिविधिमा जोड्ने, उनीहरुको सहभागिता बढाउने र समुदायमा भएका समस्याबारे सामूहिक रुपमा आवाज उठाउने वातावरण निर्माण हुँदै गएको स्थानीय बबिता राेकाया बताउँछन्। यसले वडामा महिला एकता र सामाजिक जागरणको नयाँ सुरुवात भएको उनको बुझाइ छ।

सयपत्री मूल समितिले महिलाहरुलाई कार्यक्रममा सहभागी गराउने भन्दा पनि समाज परिवर्तनका लागि सक्रिय नेतृत्वकर्ताका रुपमा अघि बढाउने उद्देश्यले विभिन्न गतिविधि गर्दै आएको जनाएको छ।

वडाका सबै टोलबाट महिलाहरु एउटै मञ्चमा जुटेर आफ्ना अनुभव, समस्या र सम्भावनाबारे छलफल गर्नु आफैंमा महत्वपूर्ण उपलब्धि भएको स्थानीयको भनाइ छ। महिलाहरुको सामूहिक सक्रियताले परिवार हुँदै सिंगो समुदायमा सकारात्मक परिवर्तन ल्याउन सक्ने विश्वास गरिएको छ।

नयाँ वडा नेतृत्व, स्थानीय महिला समूह तथा सामाजिक संस्थाबीचको सहकार्यले आगामी दिनमा महिला सशक्तीकरण, सामाजिक सुधार र समुदाय विकासका अभियानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

गौमुल-४ मा पछिल्लो समय देखिएको महिला एकता र सक्रियताले ‘परिवर्तन नेतृत्वबाट मात्र होइन, समुदायको एकताबाट पनि सम्भव छ’ भन्ने सन्देश दिएको छ।

प्रतिक्रिया