गाैमुल खबर डटकम सोमबार २२, भदौ २०८३ ०३:१७

बसालामा दर्जन बढी घर पहिरोको उच्च जोखिममा, जोखिमकै घरमा बस्न बाध्य स्थानीय

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, भदौ २२, २०८३
बसालामा दर्जन बढी घर पहिरोको उच्च जोखिममा, जोखिमकै घरमा बस्न बाध्य स्थानीय

बाजुरा ःगौमुल गाउँपालिका-६ बसाला टोलका दर्जनबढी घर पहिरोको उच्च जोखिममा परेका छन्। लगातार भइरहेको भारी वर्षाका कारण बस्ती आसपासको जमिन कमजोर बन्दै गएपछि स्थानीयका घरहरु पहिरोको जोखिममा परेका हुन्।

स्थानीय मानबहादुर रोकाया, धनबहादुर रोकाया, विस्ना रोकाया, जैधे बुढ्थापा, बुद्धिसिंह थापा लगायतका घर पहिरोको जोखिममा रहेका छन्। त्यस्तै, सोही वडाको बाडी टोलका जला थापाको घर समेत पहिरोको जोखिममा परेको स्थानीयले बताएका छन्।

निरन्तर वर्षाका कारण घरमाथि तथा आसपासबाट पहिरो खस्ने क्रम बढेपछि स्थानीय त्रसित बनेका छन्। पहिरोको जोखिम बढ्दै गए पनि सुरक्षित स्थानमा बसाइँ सर्नका लागि अन्यत्र ठाउँ नभएकाले जोखिमकै घरमा बस्नुपर्ने बाध्यता रहेको स्थानीय मानबहादुर रोकायाले बताएका छन्।

“घर पहिरोको जोखिममा छ, तर अन्यत्र बस्ने ठाउँ छैन। पानी परिरहेकाले जुनसुकै बेला पहिरो आउन सक्ने डर छ,” रोकायाले भने।

पहिरोको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्न तथा सम्भावित क्षति रोक्न तत्काल आवश्यक पहल गर्न स्थानीयले सम्बन्धित निकायसँग माग गरेका छन्। लगातारको वर्षा अझै नरोकिएकाले बसाला टोलमा थप जोखिम बढ्न सक्ने अवस्था रहेको छ।

प्रतिक्रिया