गाैमुल खबर डटकम सोमबार २२, भदौ २०८३ ०३:१६

गौमुल-६ मा बाढी-पहिरोको त्रास, दुई परिवार स्थानान्तरण

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, भदौ २१, २०८३
गौमुल-६ मा बाढी-पहिरोको त्रास, दुई परिवार स्थानान्तरण

बाजुरा ः गौमुल गाउँपालिका-६ का विभिन्न बस्तीमा भारी वर्षासँगै बाढी र पहिरोको जोखिम बढेपछि स्थानीयबासी त्रसित भएका छन्। पहिरोले घरमाथिबाट खस्न थालेपछि केही परिवार विस्थापित भएका छन् भने दर्जनौँ घर जोखिममा परेका छन्।

वडाको दडीपाटा टोलमा लालबहादुर रोकाया, मानबहादुर रोकाया, धनबहादुर रोकाया, बादुरे रोकाया र गोपाल रोकायाको घरमाथिबाट पहिरो खस्न थालेपछि उनीहरुका घर उच्च जोखिममा परेका छन्।

त्यस्तै, बसाला टोलका पूर्णबहादुर रोकाया, सुरेश रोकाया लगायतका स्थानीयका घर समेत पहिरोको जोखिममा परेको स्थानीयले बताएका छन्। निरन्तरको भारी वर्षाका कारण टाँडाकोट, सालीकोट लगायतका बस्तीमा समेत बाढी-पहिरोको जोखिम बढेको छ।

यसैबीच, बाढी-पहिरोको उच्च जोखिममा रहेका सालीकोट पानीखालकी फागुनी रोकाया र गनेडा टोलका धनपति रोकायाको परिवारलाई सुरक्षित स्थानका रुपमा रहेको नयाँ बस्ती सञ्जीवनी टोलमा स्थानान्तरण गरिएको छ।

वडा सदस्य कलक चँदाराका अनुसार जोखिममा रहेका परिवारलाई तत्काल सुरक्षित स्थानमा सारिएको हो। वर्षा निरन्तर भइरहेकाले अन्य जोखिमयुक्त बस्तीका स्थानीयलाई समेत सतर्क रहन आग्रह गरिएको छ।

स्थानीयका अनुसार पहिरो खस्ने क्रम जारी रहेकाले जोखिममा रहेका घर तथा बस्तीको तत्काल स्थलगत अनुगमन गरी आवश्यक सुरक्षा तथा उद्धारको व्यवस्था गर्नुपर्ने अवस्था छ।

प्रतिक्रिया