गाैमुल खबर डटकम मङ्गलबार १६, भदौ २०८३ १०:०९

बाढीको डर होस् या बिरामीको पीडा, ‘वडा साथमै छ’ भन्दै अघि बढ्यो गौमुल-४

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, भदौ १५, २०८३
बाढीको डर होस् या बिरामीको पीडा, ‘वडा साथमै छ’ भन्दै अघि बढ्यो गौमुल-४

बाजुरा ः वर्षायामसँगै बढेको बाढी-पहिरोको जोखिम, विभिन्न टोलमा फैलिएको भाइरल ज्वरो तथा खानेपानीका मुहान दूषित हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै गौमुल गाउँपालिका-४ नम्बर वडाले नागरिकका तत्कालीन समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको छ ।

वडा अध्यक्ष अमर विकको अध्यक्षतामा भदौ १५ गते बसेको आर्थिक वर्ष २०८३/८४ को चौथो वडा बैठकले विपद्, स्वास्थ्य र खानेपानीसँग सम्बन्धित समस्या समाधानका लागि महत्वपूर्ण निर्णय गरेको हो ।

बैठकले वर्षायाममा बाढी-पहिरोको जोखिम बढिरहेका बेला वडाका १७ घरपरिवार उच्च जोखिममा रहेको पहिचान गर्दै उनीहरुलाई वडाको तर्फबाट सक्दो सहयोग गर्ने तथा थप राहत र सहयोगका लागि गौमुल गाउँपालिका र सम्बन्धित विभिन्न निकायसँग आवश्यक समन्वय गर्ने निर्णय गरेको छ ।

त्यस्तै, वडाका विभिन्न टोलमा भाइरल ज्वरोका कारण बिरामीको संख्या बढ्दै गएपछि स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको नियमित उपस्थिति सुनिश्चित गर्ने निर्णय गरिएको छ ।

नागरिकले सामान्य स्वास्थ्य उपचारका लागि पनि टाढा जानुपर्ने अवस्था आउन नदिन स्वास्थ्य सेवा नियमित र प्रभावकारी बनाउने विषयलाई बैठकले प्राथमिकतामा राखेको हो ।

गौमुल गाउँपालिका-४ मात्र नभई वडा नं. ४, ५ र ६ का नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले मानाकोट स्वास्थ्य चौकीको व्यवस्थापनबारे समेत बैठकमा छलफल भएको छ ।

स्वास्थ्य व्यवस्थापन समितिको बैठक बसेर स्वास्थ्य संस्थामा आवश्यक औषधि, औजार तथा उपकरणको व्यवस्थापनसँगै दक्ष जनशक्तिको आवश्यकता पूरा गर्न गाउँपालिकाको स्वास्थ्य शाखालाई अनुरोध गर्ने निर्णय समेत गरिएको छ ।

खानेपानी दूषित हुन नदिन मुहानदेखि संरचनासम्म सरसफाइ

वर्षायाममा खानेपानीका मुहान तथा संरचना दूषित हुने सम्भावना बढ्ने र त्यसको प्रत्यक्ष असर नागरिकको स्वास्थ्यमा पर्न सक्ने भएकाले वडाभित्र सञ्चालित खानेपानी योजनाका मुहान, ट्यांकी तथा अन्य संरचनाको सरसफाइ गर्ने निर्णय गरिएको छ ।

वडाले भाइरल ज्वरो बढ्नुका सम्भावित कारणमध्ये दूषित खानेपानी पनि हुनसक्ने भएकाले रोग लागेपछि उपचार गर्ने भन्दा रोग फैलिन नदिन पूर्वतयारी र सरसफाइमा जोड दिने नीति अघि सारेको हो ।

हरेक टोलमा सम्पर्क व्यक्ति, विपद्को सूचना तत्काल आदान-प्रदान

विपद्का बेला सूचना समयमा नपुग्दा जोखिम झनै बढ्न सक्ने भएकाले प्रत्येक टोलमा छनोट गरिएका सम्पर्क व्यक्ति मार्फत निरन्तर सूचना संकलन, आदान-प्रदान र समन्वय गर्ने व्यवस्था मिलाइने भएको छ ।

बाढी, पहिरो, खानेपानी, स्वास्थ्य लगायत आकस्मिक समस्या देखिए तत्काल सम्बन्धित निकायसम्म सूचना पुर्याउने र आवश्यक सहयोगका लागि समन्वय गर्ने व्यवस्था प्रभावकारी बनाइने वडाले जनाएको छ ।

वडा अध्यक्ष अमर विकले विपद्का बेला नागरिकले वडा कार्यालय आफूहरुसँगै रहेको अनुभूति गर्नुपर्ने बताएका छन् । उनले बैठकमा भएका निर्णयलाई कागजमा मात्र सीमित नराखी व्यवहारमै कार्यान्वयन गर्दै नागरिकको समस्या समाधानमा वडा कार्यालय अग्रपंक्तिमा उभिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया