बाजुरा ःबाजुराको गौमुल गाउँपालिकाका पहिरो प्रभावित ४६ परिवारलाई राहत तथा सरसफाइ सामग्री वितरण गरिएको छ। विपद्बाट प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्ने उद्देश्यले प्लान इन्टरनेशनल नेपाल र पीसविन नेपालको सहकार्यमा राहत सामग्री उपलब्ध गराइएको हो।
राहत स्वरुप ४६ वटै परिवारलाई प्रतिपरिवार १६ प्रकारभन्दा बढीका सरसफाइ तथा व्यक्तिगत स्वच्छता सम्बन्धी सामग्री प्रदान गरिएको छ। विपद्को समयमा स्वास्थ्य, सरसफाइ, व्यक्तिगत सुरक्षा तथा मर्यादा कायम राख्न सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त सामग्री उपलब्ध गराइएको हो।
पहिरोबाट सबैभन्दा बढी प्रभावित परिवारलाई भने किचेन सेट समेत उपलब्ध गराइएको छ। किचेन सेटमा दैनिक घरायसी प्रयोजनमा आवश्यक पर्ने आठ प्रकारका भाँडाकुँडा तथा सामग्री समावेश गरिएको जनाइएको छ।
पीसविन नेपालका अनुगमन तथा प्रतिवेदन अधिकृत कुसुम शाहीका अनुसार प्रभावित परिवारलाई नगद तथा जिन्सी सामग्री गरी प्रतिपरिवार २५ हजार रुपैयाँ भन्दा बढी बराबरको राहत उपलब्ध गराइएको छ। जिन्सी सामग्री हस्तान्तरण गरिएको र नगद रकम सम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा गरिने उनले जानकारी दिइन्।
राहत सामग्री हस्तान्तरण गर्दै गौमुल गाउँपालिकाकी उपाध्यक्ष सीता थापाले विपद्को कठिन अवस्थामा प्रभावित परिवारलाई सहयोग गरेकोमा प्लान इन्टरनेशनल नेपाल र पीसविन नेपालप्रति आभार व्यक्त गरिन्। उनले विपद्का कारण समस्यामा परेका परिवारलाई राहत सामग्री उपलब्ध गराइनुले तत्कालीन आवश्यकता पूरा गर्न महत्वपूर्ण सहयोग पुगेको बताइन्।
उपलब्ध गराइएको राहत सामग्रीले पहिरो प्रभावित परिवारको दैनिक जीवनयापनमा सहयोग पुग्नुका साथै विपद्को समयमा स्वास्थ्य, सरसफाइ, सुरक्षा र व्यक्तिगत मर्यादा संरक्षणमा समेत महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
राहत सामग्री हस्तान्तरण कार्यक्रममा प्लान इन्टरनेशनल नेपालका परियोजना संयोजक महेश नेपाली, प्लान इन्टरनेशनल नेपालकी पुनम साउँद, पीसविन नेपालका परियोजना संयोजक पदम कठायत, वीरेन्द्र रावल लगायतको सहभागिता रहेको थियो।





प्रतिक्रिया