बाजुरा ःगौमुल गाउँपालिका-४ डाँडाबाडा टोलमा घर माथिबाट पहिरो आएपछि स्थानीय पदम चँदारा र रमेश चँदाराको घर जोखिममा परेका छन्। लगातारको वर्षाका कारण पहिरो खस्दा दुवै परिवारका घरमा थप क्षति पुग्न सक्ने जोखिम बढेको हो।
सम्भावित मानवीय तथा भौतिक क्षतिलाई मध्यनजर गर्दै वडा कार्यालयको टोलीले जोखिमग्रस्त क्षेत्रमा स्थलगत अनुगमन गरेको वडा अध्यक्ष अमर विकले बताएका छन्।
घटनापछि आवश्यक सुरक्षा तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय घट्मुनालाई समेत जानकारी गराइएको वडा कार्यालयले जनाएको छ।
डाँडाबाडा टोलका अन्य घरहरु समेत पहिरोको उच्च जोखिममा रहेको बताइएको छ। जोखिम बढ्दै गएपछि स्थानीयबासीलाई सम्भावित विपद्बाट जोगाउन समयमै आवश्यक सावधानी र उद्धार तयारी गर्नुपर्ने देखिएको छ।
वडा कार्यालयले प्रभावित परिवारको सुरक्षा तथा संरक्षणका लागि आवश्यक सहयोग र सहजीकरण गरिदिन सम्बन्धित सरोकारवाला निकाय, जनप्रतिनिधि तथा सहयोगी मनहरुसँग अपिल गरेको छ।
सम्भावित मानवीय तथा भौतिक क्षति हुन नदिन जोखिमग्रस्त परिवारको सुरक्षित स्थानान्तरण, पहिरो नियन्त्रण तथा आवश्यक राहतका लागि तत्काल पहल गर्न समेत सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।






प्रतिक्रिया