बाजुरा ः बाजुराको बुढीनन्दा नगरपालिका-१ अन्तर्गत पर्ने पार्तोला र मटेलाका बस्तीमा अविरल वर्षापछि बाढी तथा पहिरोको जोखिम बढेको छ। वर्षाका कारण स्थानीयका घरहरु उच्च जोखिममा परेका छन् भने कृषकका खेतबारीमा समेत क्षति पुगेको छ।
अविरल वर्षाका कारण कोल्टी-पिलुचौर सडकखण्ड समेत अवरुद्ध भएपछि स्थानीयको आवतजावत प्रभावित भएको छ। सडक अवरुद्ध हुँदा अत्यावश्यक सेवा तथा दैनिक आवतजावतमा समेत समस्या उत्पन्न भएको स्थानीयले बताएका छन्।
बाढी, पहिरो र वर्षाका कारण प्रभावित क्षेत्रको अवस्थाबारे बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले स्थलगत अनुगमन गर्नुभएको छ।
अनुगमनका क्रममा नगर प्रमुख बोहराले प्रभावित बस्ती तथा क्षतिको अवस्थाबारे जानकारी लिनुका साथै तत्काल राहत तथा उद्धारका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
त्यस्तै, अवरुद्ध कोल्टी-पिलुचौर सडक तत्काल सञ्चालनमा ल्याउन पहल गर्ने र उच्च जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक प्रक्रिया अघि बढाउन सरकारसँग समन्वय तथा पहल गरिने नगर प्रमुख बोहराले बताउनुभएको छ।
वर्षाका कारण थप क्षति हुन सक्ने सम्भावना रहेकाले जोखिममा रहेका बस्तीका नागरिकलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।
नगरपालिकाले प्रभावित क्षेत्रको थप क्षतिको विवरण संकलन तथा आवश्यक राहत व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ।






प्रतिक्रिया