गाैमुल खबर डटकम आइतबार ०७, भदौ २०८३ ०४:२०

विपद्को जोखिममा गौमुल-४ : बस्ती-बस्ती पुगेर नागरिकको अवस्था बुझ्दै वडा सरकार

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, भदौ ०६, २०८३
विपद्को जोखिममा गौमुल-४ : बस्ती-बस्ती पुगेर नागरिकको अवस्था बुझ्दै वडा सरकार

बाजुरा ःगौमुल गाउँपालिका-४ वडा सरकारले वर्षायाममा उत्पन्न हुन सक्ने विपद् जोखिमलाई मध्यनजर गर्दै वडाभित्रका विभिन्न टोलको स्थलगत अनुगमन गरेको छ।

शनिबार वडा कार्यालयबाट जनप्रतिनिधि, विपद् व्यवस्थापन समितिका प्रतिनिधि, गौमुल विकास समाजका प्रतिनिधि, वडा प्राविधिक तथा टोलका विपद् सम्पर्क व्यक्तिहहरुको सहभागितामा अनुगमन गरिएको हो।

अनुगमन टोलीले वडा नम्बर ४ काे बगर, गदाडा, घोगाला, डाँडाबाडा लगायतका टोलमा पुगेर स्थानीयको अवस्था, सम्भावित जोखिम तथा विपद्का कारण प्रभावित हुन सक्ने क्षेत्रको निरीक्षण गरेको थियो।

जोखिममा रहेका नागरिकको जनअवस्था बुझ्दै आवश्यक उद्धार, राहत तथा विपद्को समयमा सहजीकरणका लागि आवश्यक तयारीबारे समेत छलफल गरिएको छ।

अनुगमनका क्रममा वर्षायाममा पहिरो, बाढी तथा अन्य विपद्को जोखिम हुन सक्ने भएकाले वडाबासीलाई विशेष सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरिएको वडा कार्यालयले जनाएको छ।

वडा अध्यक्ष अमर विकले विपद्को समयमा नागरिकलाई एक्लो महसुस हुन नदिने बताउँदै वडा सरकार जनताको सुखदुःखमा सधैँ साथमा रहेको बताएका छन्।

जोखिममा रहेका बस्ती तथा नागरिकको अवस्थाबारे नियमित जानकारी लिने र आवश्यक परेको अवस्थामा तत्काल उद्धार तथा सहयोगका लागि पहल गरिने उनको भनाइ छ।

अनुगमनमा वडा सदस्यहरु मंगल धामी, तुसार सार्की र जना सार्की, गौमुल विकास समाजका कार्यक्रम संयोजक प्रदीप सार्की, वडा प्राविधिक तथा विभिन्न टोलका विपद् सम्पर्क व्यक्तिहरुको सहभागिता रहेको थियो।

वडा कार्यालयले वर्षायामको समयमा कुनै विपद् वा जोखिमको अवस्था देखिएमा तत्काल सम्बन्धित वडा प्रतिनिधि तथा विपद् सम्पर्क व्यक्तिलाई जानकारी गराउन समेत वडाबासीलाई अनुरोध गरेको छ।

May be an image of one or more people

प्रतिक्रिया