बाजुरा ः गौमुल गाउँपालिकामा भारी वर्षा जारी रहँदा पहिरोले वितण्डा मच्चाउन थालेको छ। गौमुल गाउँपालिका-३ कटीगाउँमा घर माथिबाट आएको पहिरोले स्थानीय बुदी बोहरा र पूर्णिमल बोहराको घर बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
गौमुल मिडिया हाउस प्रा.लि.तथा गौमुल खबर डटकमलाई प्राप्त प्रारम्भिक जानकारी अनुसार पहिरोका कारण करिब २० घर उच्च जोखिममा परेका छन्। स्थानीय भरत बोहराका अनुसार कटीगाउँका विभिन्न स्थानमा निरन्तर पहिरो खसिरहेको छ।
हालसम्म मानवीय क्षतिको जानकारी प्राप्त भएको छैन्। तर पहिरोले घर तथा घरभित्र रहेका सामान समेत बगाएर ठूलो धनमालको क्षति पुर्याएको बताइएको छ।
भारी वर्षासँगै ठाउँ-ठाउँमा पहिरो खसिरहेकाले प्रभावित क्षेत्रमा अहिले नजिकै जान समेत जोखिमपूर्ण अवस्था रहेको स्थानीयले बताएका छन्। थप पहिरोको जोखिम बढ्दै गएपछि स्थानीयबासी त्रसित बनेका छन्।
घटनास्थलको अवस्था थप गम्भीर बन्न सक्ने भएकाले जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्न तथा तत्काल उद्धार र राहतको व्यवस्था गर्न स्थानीयले सम्बन्धित निकायसँग माग गरेका छन्। यो घटनाबारे थप विवरण प्राप्त हुनासाथ गौमुल खबर डटकम मार्फत अपडेट गरिनेछ।





प्रतिक्रिया