गाैमुल खबर डटकम आइतबार ३१, साउन २०८३ ०२:२९

मृत्युको घटनापछि पनि रोकिएन पहिरो : ताम्सुका ५८ परिवारको ज्यान जोखिममा

एक जनाको मृत्यु, दुई घाइते र दुई घर पूर्ण रुपमा क्षतिग्रस्त; गाउँ नै चिराचिरा परेपछि त्रासमा स्थानीय
बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, साउन ३०, २०८३
मृत्युको घटनापछि पनि रोकिएन पहिरो : ताम्सुका ५८ परिवारको ज्यान जोखिममा

बाजुरा ः बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सु गाउँमा बाढी पहिरोको जोखिम झनै बढेको छ । यसअघि नै बाढी पहिरोमा परी एक जनाको मृत्यु र दुई जना घाइते भएको ताम्सु गाउँमा अहिले थप पहिरोको जोखिम बढेपछि ५८ परिवार त्रासमा परेका छन् ।

बिहीबार राति आएको पहिरोमा परी कर्णबहादुर थापाकी २० वर्षीया छोरी प्रतीक्षा थापाको मृत्यु भएको थियो । सोही घटनामा ४० वर्षीय धर्म थापा र ४० वर्षीया धौलीदेवी रावल घाइते भएका थिए ।

धर्मको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने धौलीदेवीको सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचार भइरहेको छ । पहिरोमा ताम्सुका दुई घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् ।

गाउँको बीच भागमै पहिरो जानुका साथै ठाउँ-ठाउँमा जमिन चिराचिरा परेपछि बाँकी ५८ परिवार समेत उच्च जोखिममा परेका हुन् ।

वडा अध्यक्ष नन्द थापाका अनुसार ताम्सु गाउँमा ६० परिवार बसोबास गर्दै आएका छन् । दुई घर पहिरोले बगाएपछि बाँकी ५८ परिवारलाई समेत तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था देखिएको छ ।

पहिरोबाट विस्थापित परिवारमध्ये केही सहकारीको भवनमा, केही महालक्ष्मी आधारभूत विद्यालयमा आश्रय लिएर बसेका छन् । केही परिवार भने पाल टाँगेर बस्न बाध्य छन् ।

खानेपानी र विद्युत् सेवा ठप्प

बाढी पहिरोले ताम्सु गाउँमा करिब ६० रोपनी खेतीयोग्य जमिनमा क्षति पुर्याएको छ । खेतबारीमा लगाइएको अन्नबाली नष्ट भएपछि स्थानीयबासीलाई खाद्य संकटको चिन्ता बढेको छ ।

पहिरोका कारण विद्युत् सेवा पूर्ण रुपमा बन्द भएको छ । खानेपानीका पाइप समेत क्षतिग्रस्त भएपछि गाउँमा खानेपानीको समस्या गम्भीर बनेको छ । खानेपानीको वैकल्पिक व्यवस्था नहुँदा स्थानीयबासी खोलाको पानी पिउन बाध्य भएका छन् ।

बाजुराका करिब १५० बस्ती उच्च जोखिममा

ताम्सु गाउँ मात्र होइन, बाजुराका नौवटै स्थानीय तह बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले सार्वजनिक गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८३’ अनुसार जिल्लाका नौ वटै स्थानीय तहका करिब १५० बस्ती बाढी पहिरो जस्ता विपद्जन्य घटनाको उच्च जोखिममा छन् ।

जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार जिल्लाका एक सयभन्दा बढी गाउँ पहिरोको उच्च जोखिममा छन् । भिरालो भू-भाग, कमजोर भू–बनावट, नदी कटान, अव्यवस्थित सडक निर्माण तथा जलवायु परिवर्तनको बढ्दो असरका कारण बाजुरा समग्र रुपमा विपद्को उच्च जोखिममा रहेको प्रशासनले जनाएको छ ।

यसअघि साउन ४ गते आएको बाढीले बडीमालिका नगरपालिका-६ कोर्धका १६ परिवार विस्थापित भएका थिए । त्यस्तै, बडिमालिका नगरपालिका-८ सेलाघाटमा बाढी आउँदा एक जना घाइते भएका थिए भने तीन परिवार पूर्ण रुपमा विस्थापित भएका थिए ।

ताम्सुमा एक जनाको ज्यान गइसकेको छ, दुई जना घाइते छन् र दुई घर पूर्ण रुपमा बगेका छन् । अब बाँकी ५८ परिवारको सुरक्षाका लागि तत्काल सुरक्षित स्थानमा स्थानान्तरण, अस्थायी आवास, खानेपानी, खाद्यान्न र स्वास्थ्य सेवाको व्यवस्था गर्नुपर्ने अवस्था देखिएको छ ।
 

प्रतिक्रिया